२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

कमलका दुई विद्यालयमा प्रधानाध्यापकको विवाद


दमक, जेठ २ । झापाको कमल गाउँपालिकाका दुई सामुदायिक माध्यमिक विद्यालयमा प्रधानाध्यापकको विवादले शैक्षिक गतिविधि प्रभावित बनेको छ ।

कमल–६ गोहाबारीको वाणी माध्यमिक विद्यालय र कमल–५ पाडाजँगीको मंगलमय माध्यमिक विद्यालयमा प्रधानाध्यापकको लफडाले विद्यार्थी चेपुवामा परेका छन् ।

वाणीमा तीनजनाले प्रधानाध्यापक आकांक्षी देखाएपछि दुई महिनादेखि शैक्षिक गतिविधि प्रभावित बनिरहेको छ । यही लफडाले गर्दा नयाँ विद्यार्थी भर्ना, दिवा खाजा कार्यक्रम, राष्ट्रिय परीक्षा बोेर्डमा पठाउनुपर्ने विद्यार्थीको प्रयोगात्मक परीक्षाको अंक, शिक्षक कर्मचारीको तलब भुक्तानीजस्ता अति आवश्यक कामहरु प्रभावित बनेको हुन् ।

प्रधानाध्यापक नियुक्तिका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालयका शिक्षक र गाउँपालिकाका बीचको तालमेल मिल्न नसक्दा विद्यालयमा यस्तो समस्या देखिएको हो ।

व्यवस्थापन समितिसँगको विवादका कारण प्रधानाध्यापक लक्ष्मीप्रसाद डाँगीले राजीनामा दिएर तेजनाथ भट्टराईलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिइएको छ ।

डाँगी वर्ष दिनमा शैक्षिक अवकासका क्रममा थिए । तर, डाँगीले निमित्त दिएका भट्टराईलाई प्रधानाध्यापक नियुक्तिमा सिफारिसको सट्टा व्यवस्थापन समितिले अर्का शिक्षक जगन्नाथ फागोलाई प्रधानाध्यापक नियुक्त गरेपछि विवाद चुलिएको हो ।

निमित्तको जिम्मेवारी पाएका भट्टराई मर्यादाक्रममा समेत सिनियर भएका कारण उनलाई नियमानुसार प्रधानाध्यापक नियुक्ति गर्नुपर्ने कतिपय शिक्षकहरुको भनाइ छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य न्यौपानेले गाउँपालिकाले छिटोभन्दा छिटो प्रधानाध्यापकको विवाद समाधान गर्न विद्यालय व्यवस्थापन समितिलाई पत्र पठाएको बताए । नियमसंगत तथा विवादरहित प्रअ नियुक्ति गर्न समितिलाई पत्रचार गरिएको उनको भनाई छ ।

यसैबीच, मंगलमय माविमा पनि निमित्त प्रधानाध्यापक र प्रधानाध्यापकको जिम्मेवारी नसुल्झदा प्रशासनिक कामकाजमा समस्या देखिएको छ ।

कक्षा १२ मा अध्ययनरत विद्यार्थी निर्जला बाँस्कोटालाई गत चैत २१ गते विद्यालयका प्रधानाध्यापक मोहन बगालेले मरणासन्न कुटपिट गरेपछि पालिकाले घटनाको विषयलाई लिएर बगालेलाई निलम्बन गरेर निमित्तको जिम्मेवारी डम्बरुप्रसाद पोखरेललाई जिम्मेवारी दिएको छ ।

बगालेमाथि पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि एक साता थुनामा परेर धरौटीमा छुटेका थिए । मुद्दा किनारा नलागेसम्म पालिकाको शिक्षा समितिले बगालेलाई प्रधानाध्यापकको पुनः जिम्मेवारी दिन नसकिने शिक्षा शाखा प्रमुख न्यौपाने बताउँछन् ।

बगाले विद्यालयमा हाजिर हुँदै आएका छन् । तर, लामो समयसम्म प्रधानाध्यापक निलम्बन र निमित्तको जिम्मेवारीको लफडा नसुल्झिदा विद्यालयको प्रशासनिक कामकाजमा समस्या आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer