२०८१ असार २८ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

‘एभरेस्ट’ र ‘एमडिएच’ मसला नेपालमा प्रतिबन्ध


बिर्तामेड, जेठ ४ । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ ।

भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडिएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाएको हो ।

‘नेपालमा आयात भइरहेको एभरेस्ट ब्रान्डका मसला पाउडर र एमडिएच ब्रान्डका तीनथरी मसला आयात रोकेका छौँ । स्वास्थ्यमा हानिकारक हुने रसायन भेटिएको खबरपछि हामीले एक सातादेखि आयात रोकेका छौँ,’ विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भने, ‘अब बजारमा पनि उक्त ब्रान्ड मसला बिक्री वितरणमा रोक लगाइसकेका छौँ ।’

उनले नेपालमा भएका उक्त ब्रान्डका मसला परीक्षण गर्न सुरु गरेको भन्दै प्रतिवेदन नआएसम्म बजारमा बिक्री खुला नगर्ने बताए ।

आयात अनुमतिबिना पनि सीमाबाट उक्त ब्रान्डका मसला आए खाद्य आयात निर्यात तथा गुणस्तर प्रमाणीकरण कार्यालयले हेरेर रोक्ने उनले बताए ।

भारतमा उत्पादन हुने एभरेस्ट र एमडीएच ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक एथिलिन अक्साइड भेटिएको हङकङको खाद्य सुरक्षा विभागले दाबी गरेको बीबीसीले जनाएको थियो ।

त्यहाँ अहिले यी दुवै ब्रान्डका मसला खरिद–बिक्री नगर्न भनिएको छ । यस्तै सिंगापुरमा एभरेस्ट ब्रान्डको ‘फिस करी मसला’ बजारबाट फिर्ता ल्याउन निर्देशन दिइएको छ ।

सिंगापुरले बैशाख दोस्रो सातामै देशको फुड एजेन्सीलाई एथिलिन अक्साइड पाइने एभरेस्टको फिस करी मसला बजारबाट फिर्ता ल्याउन निर्देशन दिएको थियो ।

एथिलिन अक्साइडले के गर्छ ?

एथिलिन अक्साइड एक रङहीन र ज्वलनशील ग्यास हो । यसको प्रयोग खासगरी कृषि, स्वास्थ्य र खाद्य प्रशोधनमा कीटनाशकका लागि प्रयोग गरिन्छ । खानालाई ब्याक्टेरिया, कीराबाट जोगाउन एथिलिन अक्साइड प्रयोग गरिन्छ ।

कतिपय स्वास्थ्य संगठनले कार्सिनोजेनले क्यान्सरको खतरा गराउन सक्ने बताएको छ । एथिलिन अक्साइडको जोखिम हेरेर कतिपय देशको खाद्य नियमले खाद्य पदार्थमा यसको प्रयोगबारे कडा नियम बनाएका छन् । ती देशमा एथिलिन अक्साइडको मात्रा निर्धारित गर्न कडा कानुन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer