२०८१ असार ४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

अभावमा चल्दैछ महेन्द्ररत्नको अटिजम स्रोत कक्षा


बिर्तामोड, जेठ १२ । झापाको पुरानोमध्ये एक बिर्तामोडको महेन्द्ररत्न माविले अटिजम स्रोत कक्षा सुरु गरेको आउँदो असारमा दुई वर्ष पुग्दैछ ।

पछिल्लो समय अटिजम भएका बालबालिका बढिरहेको सन्दर्भमा विद्यालयले आफ्नै स्रोतमा सकेको मापदण्ड पूरा गरेर कक्षा सञ्चालन गरिरहेको प्रधानाध्यापक खड्गप्रसाद खरेलले जानकारी दिए ।

एउटा कक्षाकोठामा आठजना अटिजम भएका विद्यार्थी रहनेगरी तीनवटा कक्षाकोठा छन् । विद्यालयमा बिर्तामोड तथा आसपासका २१ छात्र र तीन छात्राले कक्षा लिइरहेका छन् ।

खरेलका अनुसार छात्रछात्राको रेखदेखका लागि एकजना विज्ञ रुस्मा दाहाल, दुईजना तालिमप्राप्त शिक्षिका, दुईजना आया (केयर टेकर) र एकजना स्रोत शिक्षिकाको व्यवस्था गरिएको छ ।

न्याय तथा विकासका लागि सामाजिक सञ्जालमार्फत अस्ट्रेलियन राजदूतावास र बिर्तामोड नगरपालिकाको सहयोगमा बनेको स्रोत कक्षामा जेनतेन कक्षा सञ्चालन भइरहेको खरेल बताउँछन् ।

‘अटिजम भएका नानीबाबुहरुलाई सम्हाल्नै गाह्रो’, प्रधानाध्यापक खरेल भन्छन्, ‘साह्रै कठिन अवस्थामा कक्षा सञ्चालन गरिरहेका छौँ ।’ कक्षा लिइरहेका छात्रछात्रालाई विद्यालयले निःशुल्क सेवा दिँदै आएको छ ।

विद्यालयमा खेल सामग्री र क्वाइट रुम भए पनि स्पिच थेरापी र फिजिकल थेरापी आवश्यक भएको खरेलले बताए । त्यस्तै, शैक्षिक सामग्री, बस्ने कोठा लगायत तत्काल अभाव रहेको छ ।

विद्यालयका कक्षा लिइरहेका छात्रछात्रामा परिवर्तन आइरहेको खरेलले अनुभव सुनाए । हप्ताहप्ताको समय तालिका, सामग्री निर्माण गरी अध्यापन गराइने भएकाले उनीहरुमा परिवर्तन आउने गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer