बिर्तामोड, जेठ १९ । झापाको बिर्तामोड–६ स्थित बुट्टाबारीमा दुई दिने माइन्युट लेखन तालिम सम्पन्न भएको छ ।
महिला मुक्ति अभियान झापाको आयोजना तथा बिर्तामोड वडा नम्बर ६ को आर्थिक सहयोग तालिम सम्पन्न भएको हो ।
तालिमको उद्घाटन बिर्तामोड–६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङवाले गरेका थिए । ५० जना महिलाहरुको सहभागी रहेको माइन्युट लेखन तालिमको सहजीकरण वीरता लेडी जेसीजकी अध्यक्ष मिनु ओलीले गरेकी थिइन् ।
महिला मुक्ति अभियान झापाकी अध्यक्ष राधा सुब्बाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पूर्वसचिव बिनिता तामाङले गरेकी थिइन् ।
त्यस्तै, कार्यक्रममा प्रमुख अतिथि कन्दङवा, सामाजिक व्यक्तित्व चन्द्रकला कन्दङवा, वडा सदस्य गीता शर्मा रेम्मी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन अभियान झापाकी सहसचिव अनिता पुरीले गरेकी थिइन् । तालिममा वडाका २५ वटा टोल विकास संस्थाका महिलाहरु सहभागी थिए ।
२०५९ सालमा स्थापना भएको अभियानले महिलाहरुको हकहित तथा सामाजिक क्षेत्रमा काम गर्दै आएको अध्यक्ष सुब्बाले जानकारी दिइन् ।