२०८३ जेठ २ शनिबार
Jhapa Today
Adv top

पर्यटन व्यवसायीकाे क्षमता विकास कार्यक्रम सम्पन्न


बिर्तामोड , जेठ २४ । पर्यटन कार्यालय झापाले पर्यटन व्यवसायमा आबद्ध व्यवसायीको क्षमता विकाससम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

बिर्तामोडमा आयोजित प्रशिक्षण कार्यक्रममा होटल, ट्राभल्स, ट्रेकिङमा आबद्ध व्यवसायीहरुको सहभागिता रहेको थियो ।

पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडा र वाल्मीकि एजुकेसन फाउन्डेसनका अध्यापक निरज श्रेष्ठले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा झापाका ५० भन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिसमेत रहेका बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले नेपालको पर्यटन विकासका लागि विभिन्न सम्पदाहरुको कोरिडोर निर्माण गर्नुपर्ने धारणा राखे । उनले पर्यटन विकासको लागि होटल, ट्राभल्स, ट्रेकिङमा आबद्ध व्यवसायीहरुको सरोकारवालाहरुको हातेमालो जरुरी हुने बताए ।

नेपालमा विविधतायुक्त हावापानी रहेको भन्दै संग्रौलाले त्यस्ता हावापानी भएका स्थान पर्यटकको रोजाइमा पर्ने भएकाले यसको प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । नेपालमा हिमाल, पहाड र तराईजस्तो विविधतायुक्त भूगोल रहेको भन्दै १२ महिना नै यहाँ पर्यटनको सम्भावना रहने धारणा उनको थियो ।

होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन पर्यटन कार्यालय झापाका सूचना अधिकारी निरज कट्टेलले गरेका थिए ।

कार्यक्रममा होटल व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष राजन दंगाल, झापा अध्यक्ष इन्दिरा श्रेष्ठ, नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) का कोशी प्रदेश महासचिव नविन खरेल लगायतका सरोकारवालाको सहभागिता रहेको थियो ।

Adv footer