
बिर्तामोड , जेठ २४ । कोशी प्रदेशको इटहरीमा यही जेठ २५ गतेदेखि २७ गतेसम्म हुने चौथो संस्करणको इस्ट्रन ट्राभल मार्ट २०२४ को तयारी पूरा भएको छ ।

कोशी प्रदेशको समग्र पर्यटन उत्पादनहरूलाई प्रदेशका सीमावर्ती भारतीय सहर र नेपालका अन्य प्रदेशहरूमा समेत प्रचारप्रचार र प्रवर्धन गर्ने मुख्य उद्देश्यसहित सो कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

कोशी प्रदेशको महत्वपूर्ण पर्यटकीय कार्यक्रमको चौथो संस्करणमा छिमेकी देश भारतका बिहार, पश्चिम बङ्गाल सिक्किम, भुटान र बङ्गलादेश समेतका गरी ८० भन्दा बढी ट्राभल व्यवसायी, पर्यटनकर्मी, पर्यटन पत्रकार, पर्यटन अभियन्ताहरूको सहभागिता रहने कार्यक्रमका संयोजक भविषकुमार श्रेष्ठले बताए ।

नेपालका लुम्बिनी, बाग्मती, गण्डकी, मधेस र अन्य प्रदेशका ५० जनाभन्दा बढी ट्राभल व्यवसायीहरूको सहभागिता रहने मार्टका सचिव नविन खरेलले जानकारी दिए ।

कार्यक्रमका लागि नेपाल पर्यटन बोर्डबाट तीस लाख र सो रकमको २० प्रतिशतले हुन आउने रकममा इटहरी उपमहानगरपालिकाले बेहोर्ने छ ।

कार्यक्रममा कोशी प्रदेशमा सञ्चालित तारे होटलहरु प्रदेशका मुख्य गन्तव्यहरू धनकुटा, वसन्तपुर, पाँचथर, इलाम झापा र धार्मिक स्थलहरूमा भ्रमण कार्यक्रम समेत रहेको छ ।
विभिन्न क्षेत्रहरू गरी ३० वटाभन्दा बढी स्टल रहने र कार्यक्रममा उपस्थित व्यवसायी स्टलहरू र विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीहरूबीच सूचना र व्यापार र समझदारी बनाउँदै देशीय तथा अन्तर देशीय व्यवसायी प्याकेजहरूमा सहमति सम्झौता गराउने उद्देश्य रहेको संयोजक श्रेष्ठले बताए ।
नेपालबाहेकका आमन्त्रित व्यवसायीहरूलाई कार्यक्रमको दोस्रो दिन जेठ २६ गते कोशी प्रदेशका विभिन्न पर्यटकीय स्थलहरूको भ्रमण गराइने बताइएको छ ।
कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले इटहरीको होटल सोल्टी वेस्टेन्डमा गर्ने र कार्यक्रमको समापन झापाको पूर्वी नाकामा अवस्थित होटेल मेची क्राउनमा जेठ २७ गते गरिने सचिव खरेलले जानकारी दिए ।





