
बिर्तामोड , जेठ २४ । सामान्य धरौटी रकम भुक्तान गर्न नसकेर लामो समयदेखि कारागारमा कैदी जीवन बिताइरहेका नौजनालाइ समाजसेवी दीनबन्धु गोयलले धरौटी रकम बुझाएर कैदमुक्त गराएका छन् ।

विभिन्न अभियोग लागेर अदालतले बिगोबापतको रकम बुझाउनु भनी आदेश दिएको तर सामान्य धरौटी रकम पनि बुझाउन नसकेका झापाका विभिन्न पालिकाका कैदीहरुलाई सामान्य धरौटीमा छुटाएर राज्य र समाजलाई सहयोग हुने भन्दै निजहरुको रकम भुक्तान गरिदिएको गोयलले बताए ।

झापा कारागारमा भएको कार्यक्रममा ५ हजारदेखि २० हजार रुपैयाँसम्म धरौटी तिर्न नसकेका कैदीहरुलाइ जम्मा ९१ हजार रुपैयाँ भुक्तान गरी रिहा गरिएको हो ।

कार्यक्रममा अधिवक्ता सुरज खत्री, वैतनिक अधिवक्ता तारा बाराकोटी, उद्योगीहरु विनय गोयल, दिपेश ढकाल, कारागार प्रमुख रेवन्त भट्टराई र मनोजकुमार लावतीको उपस्थिति रहेको थियो ।






