बिर्तामोड, जेठ २६ । झापाको अर्जुनधारामा आफ्नै काकामाथि खुकुरी प्रहार गरेर भागेका भतिजलाई दुई साता बितिसक्दा पनि प्रहरीले पक्राउ पर्न सकेका छैन ।
अर्जुनधारा-१ का ४६ वर्षीय टंकबहादुर एक्तेनमाथि १८ दिनअघि जेठ ८ गते राति आफ्नै भतिज कृष्ण भनिने सन्तोष एक्तेनले खुकुरी प्रहार गरेका थिए ।
घाइते एक्तेनकी छोरी सलिनाका अनुसार सन्तोषले टंकबहादुरमाथि राति साढे ११ बजे आक्रमण गरेका हुन् । माछापालक किसान टंकबहादुरको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
घरनजिकै रहेको माछापोखरीको डिलमा बनाइएको छाप्रोमा सुतिरहेको बेला अचानक टंकबहादुरमाथि सन्तोषले आक्रमण गरेका थिए ।
भतिजको आक्रमणमा टंकबहादुरको दुवै खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । घटनालगत्तै पीडितकी छोरी सलिनाले सन्तोषविरूद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएकी थिइन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले आरोपित अहिलेसम्म फरार रहेको र खोजी कार्य जारी रहेको बताए ।
तर, १८ दिन बित्दा पनि आक्रमणकारी पक्राउ पर्न सकेको छैन । काका टंकबहादुरमाथि खुकुरी प्रहार गर्ने सन्तोषविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ ।