२०८१ माघ ४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा स्वास्थ्य बीमाका दर्ता सहयोगी आन्दोलित


भद्रपुर, जेठ ३० । झापामा कार्यरत स्वास्थ्य बीमाका दर्ता सहयोगीहरू आन्दोलित बनेका छन् । झापामा रहेका १७६ जना दर्ता सहयोगीले गत साउनदेखि कुनै सेवा सुविधा नपाएको भन्दै चार बुँदे माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

आज (बुधबार) चन्द्रगढीस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालयमा उनीहरूले धर्ना दिनुका साथै ज्ञापनपत्र बुझाएका छन्। विभिन्न नारा लेखिएको प्लेकार्ड प्रदर्शनीसँगै नाराबाजी समेत गरेका थिए । सुरक्षाकर्मीको बाक्लो उपस्थितिका कारण उनीहरूले कार्यालयमा तालाबन्दी गर्न भने सकेनन् ।

विमितले तिरेको रकमबाट १० प्रतिशत कमिसन प्राप्त गर्दै आएका दर्ता सहयोगीहरूलाई राज्यले एक प्रतिशत सामाजिक सुरक्षा कर कट्टा गर्दै आएकोमा गत वर्षको महालेखा परीक्षकको प्रतिवेदनमा १५ प्रतिशत कर कट्टा गर्नुपर्ने भन्दै बेरुजु उल्लेख भएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । राज्यले दिने न्यून सुविधा र उच्च करले गर्दा काम गर्न नसक्ने परिस्थितिमा रहेको उनीहरूले गुनासो गरे।

राज्यले आफूहरूबाट एक प्रतिशत करकट्टा गरेपनि आफ्नो पान स्टेटमेन्टमा भने नदेखिएको दर्ता सहयोगीहरुले बताए । राज्यले स्वास्थ्य बीमासँग सम्बन्धित विभिन्न निर्णयहरू लिने भएपनि आफूहरूलाई थाहा नहुँदा सेवाग्राहीको गाली खानु परेको गुनासो गरेका छन्।

राज्यको नीतिअनुसार आफूहरू कर तिर्न तयार भएको तर सेवा सुविधा बढाएर २० प्रतिशत पुर्याउनुपर्ने, आफूहरूले तिरेको सामाजिक सुरक्षाकर आफ्नो पानमा उल्लेख हुनुपर्ने लगायत चार बुँदे उनीहरूले माग अघि सारेका छन्।
आफूहरूको माग सम्बोधन नभए असारमा बुझाउने भाद्र साइकलदेखि उता अन्य विवरण नबुझाउने उनीहरुले चेतावनी दिएका छन् ।
विज्ञप्ति हेरौँ

Comments are closed

Adv footer