२०८१ असार १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

ठेकेदारको लापरबाहीले भत्कियो मेचीनगरको छविलाल मार्गको प्लम वाल


मेचीनगर, असार ३ । झापाको मेचीनगर–१३ छविलाल मार्गमा संघीय सरकारको १ करोड १६ लाख बजेटमा निर्माण भएको प्लम वाल भत्किएको छ ।

इन्जिनियर र ठेकेदार कम्पनीले त्यस ठाउँको भौगोलिक माटोको सतहको अवस्था नबुझी अन्धाधुन्ध निर्माण गर्दा नवनिर्मित १० फुट अग्लो करिब ६० मिटर वाल भत्किएको छ भने करिब २० मिटर चर्किएको छ ।

माथि ३०, बेस ६० सेन्टिमिटर र २ मिटर अग्लो वाल जमिनमुनिको बेसमै कमजोरी भएका कारण क्षति भएको हो ।

लोकल इन्फ्रासक्टचर डेभलपमेन्ट प्रोजेक्ट इटहरी र झापाको मेचीनगर–१० को ठेकेदार एसयुएन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो ।

योजना सम्पन्न गर्न प्रोजेक्टका इन्जिनियर प्रह्लाद दाहाल र ठेकेदार कम्पनीका नयन बरालले निर्माण गर्ने जिम्मा लिएका थिए ।

सम्झौतापछि ठेक्का पाएको कम्पनीले ठेकेदार दिलिप राजवंशीलाई योजनाको काम सम्पन्न पेटी ठेक्का दिएका थिए । दिलिप राजवंशीले पनि अर्का ठेकेदार अतुल चौधरीलाई पेटी ठेक्का दिएका थिए ।

संघीय सरकारबाट ठेक्का पाएका र ठेकेदारबाट पेटी ठेक्का पाएका ठेकेदारले मनोमानी रुपमा निर्माण गर्दा उक्त क्षति भएको स्थानीयको आरोप छ । उक्त बाटोको एकातर्फ सिँचाइको पैनीलाई पनि बाटोमै राखेको र वैकल्पिक पैनी नहुँदा समस्या हुँदै आएको स्थानीय कृषकको गुनासो छ ।

संघीय सरकारको १ करोड १६ लाखको टेन्डर भए पनि ठेकेदार कम्पनीले कम मूल्य ९६ लाख, २४ हजार, ४७९ रुपैयाँ ६ पैसामा योजनाको काम सम्पन्न गर्ने भनी ठेक्का सम्झौता गरेका थिए ।

३३ फुटे चौडाइ र ६५० मिटर लम्बाइ रहेको बाटोको दुवैतर्फ प्लम वालसहित ग्राभेलका लागि ठेक्का परेको हो । बाटोको एकातर्फको प्लम वाल निर्माणपछि अर्कोपट्टिको वाल निर्माण सुरु गरेको २ दिनपछि निर्मित वालको ७५ मिटर भाग भत्किएको छ । असार २५ गते योजनाको काम सम्पन्न मिति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer