दमक, असार ४ । पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका चुलाचुलीमोड आज बिहान टिप्पर र बस ठोक्किँदा घाइते भएकाहरुको पहिचान खुलेको छ । दुर्घटनामा २१ जना घाइते भएका थिए ।
धेरैजना घाइतेलाई दमकमा सामान्य उपचारपछि बिर्तामोड र विराटनगर रिफर गरिएको छ । प्रहरीका अनुसार अधिकांश घाइतेहरु झापा, मोरङ र सुनसरीका रहेका छन् । धेरैजसो भर्खरै बसमा चढेका यात्रु रहेको प्रहरीको भनाइ छ ।
कमल–४ का वर्ष ३८ की बिनु लिम्बू र दमक–५ का वर्ष ४२ का कलिन्द्र शेर्मालाई बिएन्डसी अस्पताल बिर्तामोड रिफर गरिएको छ ।
यस्तै, मधुमल्ला–८ की ३६ वर्षीया कल्पना कटवाल, उनका ५ वर्षीय बालक, पथरी शनिश्चरे–१ का ४० वर्षीया पूर्णमाया पोखरेल, दमक–८ का ५१ वर्षीय होमबहादुर भट्टराई, इटहरी–५ की ३८ वर्षीय शारदा खड्का, दमक–५ का ४५ वर्षीय अच्युत निरौला र कमल–५ की ३८ वर्षीया लीला चौहानलाई थप उपचारका लागि न्युरो अस्पताल विराटनगर रेफर गरिएको छ ।
त्यस्तै, दमक–१ का ३५ वर्षीय राजु कडरिया, गौरादह–४ का ३० वर्षीय दुर्गाबहादुर श्रेष्ठलाई थप उपचारको लागि निम्स अस्पताल दमक रेफर गरिएको छ ।
उर्लाबारी–७ का ५० वर्षीय कृष्णकुमार तामाङ र दमक–८ का ६५ वर्षीय भरत ढकालको दमक रिसर्च सेन्टरमा र दमक–१ की ४६ वर्षीया बबिता राईको दमक अस्पतालमा उपचार भइरहेको छ ।
दमक–४ की ३० वर्षीय भारती मगर, कमल–५ की ४० वर्षीया लक्ष्मी सुब्बा, बिर्तामोड–४ का २१ वर्षीय कर्णबहादुर राजवंशी, भोजपुर ट्याम्केमैयुम–४ की ४५ वर्षीया चरित्र राई, मोरङ पथरी शनिश्चरे–१ का ६५ वर्षीय टंकप्रसाद चुडाल र उनकी छोरी १५ वर्षीया क्याटरिना चुडालको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ ।
अधिकांश घाइतेको टाउको, छाती, नाक, हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आज बिहान ०७ः१५ बजे राजमार्गका टिप्पर र यात्रुबहाक बस आपसमा ठोक्किँदा बसमा रहेका २१ जना यात्रु घाइते भएका थिए ।
झिलझिलेबाट दमकतर्फ आउँदै गरेको बा. ३ ख २१६६ नम्बरको टिप्पर र पूर्वतर्फ जाँदै गरेको को. १ ख ५०८७ नम्बरको बस एकआपसमा ठोक्किएका थिए ।
बस चालक उदयपुर त्रियुगा–३ का ४५ वर्षीय अशोक बोट र टिप्पर चालक धनुषा गणेशमान–५ का ३४ वर्षीय शेरबहादुर राई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन् ।