२०८२ बैशाख २८ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

झापामा आज पनि भारी वर्षाको सम्भावना


बिर्तामोड, असार ५ । झापासहित कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु तथा भारतको बिहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

झापामा चार दिनयता अविरल वर्षा भइरहेको छ । लगातारको पानीले दक्षिणी झापा डुबानमा परेको छ । ३२ जना विस्थापित भएका छन् ।

विभागका अनुसार अहिले बिहान कोसी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोसी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, कोसी प्रदेशका झापा, मोरङ, इलाम, सुनसरीमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार राति कोसी प्रदेशमा साधारणतया बदली रहनेछ । कोसी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै, कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

विभागले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

Adv footer