२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा सामाजिक संघसंस्थासँग विपद व्यवस्थापनबारे छलफल


बिर्तामोड, असार ७ । भारी वर्षासँगै झापामा मनसुनजन्य विपदले क्षति पुर्याएसँगै बिर्तामोड उद्योग वाणिज्य संघले सरोकारवालाहरुसँग छलफल गरेको छ ।

आज अतिथि सदनमा विपद व्यवस्थापनमा संघसंस्थाको भूमिका विषयको कार्यक्रममा संघका अध्यक्ष राजु न्यौपानेले विपदको समयमा सबै संघसंस्था एकताबद्ध भएर सहयोगमा जुट्नुपर्ने बताए ।

उनले बिर्तामोडमा रहेका संघसंस्थासँग सहकार्य गरेर विपदबाट विस्थापित परिवारलाई अतिथि सदनमा आश्रय तथा खाद्यान्न उपलब्ध गराउन सकिने धारणा राखे ।

कार्यक्रममा प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले झापा जिल्ला बाढीको जोखिममा रहेकाले राहत तथा उद्दारका लागि निजी क्षेत्रसँग हातेमालो गर्ने बताए ।

सामाजिक अगुवा तथा एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीले विपदको पूर्वतयारी लागि राहत कोष स्थापना गर्न सुझाव दिए । यसअघिको विपदको समयमा संकलन भएको एक करोड रुपैयाँ बैंकमा मौज्दात रहेको र त्यसमा सबै झापाली मिलेर पाँच करोडको कोष बनाउनुपर्ने उनको भनाइ थियो ।

सामाजिक अगुवा तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले विपद हुनुअघि नागरिक सचेत हुनुपर्ने बताए । विपदबारे अध्ययन र योजनाको कमिका कारण बर्सेनि क्षति भइरहेको उनको भनाइ थियो । आपत पर्दा हारगुहार माग्नुअघि पूर्वतयारी र सचेतना जरुरी रहेको गुरुङले बताए ।

नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्दार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा झापाका प्रहरी उपरीक्षक मिलन केसी, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमकृष्ण बिमली, वीरता लेडी जेसिजकी अध्यक्ष मिनु ओली लगायतको भनाइ राखेका कार्यक्रममा झापा चारवटै सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष विशाल थापाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer