२०८१ असार १५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापा कोरा राइड २०२४ को तयारी सुरु


बिर्तामोड, असार १२ । साइकल संस्कृतिको विकासक्रममा रहेको झापामा सन् २०२४ को झापा कोरा राइड च्यालेन्जको तयारी सुरु भएको छ ।

यो वर्ष झापा कोरा राइडमा महिला र पुरुष गरी एक सयजनाभन्दा बढी राइडर सहभागी हुने झापाका साइकल अभियन्ता तथा राइडका संयोजक आकाश श्रेष्ठले जानकारी दिए । आजसम्म ६६ जनाले राइडका लागि नाम दर्ता गरिसकेका छन् ।

यो वर्ष कोरा राइडमा झापाका पाँच पालिकाको फन्को लगाएर ५० किलोमिटरको यात्रा तय गरिनेछ । प्रत्येक वर्ष जुलाई महिनाको तेस्रो शनिबार वार्षिक रुपमा कोरा साइक्लिङ च्यालेन्ज हुँदै आएको छ ।

अर्का साइकल अभियन्ता पूर्ण गौलीका अनुसार सन् २०२४ को कोरा राइडको रुट तय भइसकेको छ । बिर्तामोडबाट सुरु हुने राइड शनिश्चरे-जयपुर-बुधबारे-बुधबारे ७ नम्बर-नवज्योति वन-मागरमाडी सिमसार-बाँसबारी समिसार-कालिका समिसार-चारआली-दुवागढी-गोलधाप शरणार्थी शिविर-बुट्टाबारी हुँदै बिर्तामोडमा आएर टुंगिनेछ ।

यो वर्षको राइडमार्फत सामाजिक अभियन्ता शरद जोशीले सुरु गरेको ‘गिफ्ट अ भिजन’ भन्ने परियोजनाका लागि कोष संकलन गरिनेछ । यस कार्यक्रमअन्तर्गत दैनिक ज्यालादारी गर्दै आएका विपन्न परिवारका व्यक्तिको बिर्तामोड आँखा अस्पतालको सहकार्यमा विशेष छुटमा मोतियाविन्दुको शल्यक्रिया गरिने अस्पतालका सञ्चालक विनोद दाहालले बताए ।

त्यस्तै, राइडलाई अझ फराकिलो र व्यवस्थित बनाउन विभिन्न उपहार योजनाहरुसमेत समावेश गरिएको छ । राइडमा सहभागी साइक्लिस्टहरुलाई मेडल तथा डिजिटल प्रमाणपत्र प्रदान गरिनुका साथै प्रायोजकहरुबाट प्राप्त उपहार पनि प्रदान गरिनेछ ।

उपहारअन्तर्गत डोको द रिसोर्टको तर्फबाट दुई जोडीलाई बस्ने सुविधाको व्यवस्था रहेको छ । त्यस्तै, रोट्रयाक्ट क्लब अफ बिर्तामोड, इन्द्रेणी ब्यांक्वेट, रोयल रत्न होटल लगायत संघसंस्थाबाट विभिन्न उपहार प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।

झापा कोरा राइड २०२४ मा सहभागी सबै राइडरको बाइक सर्भिसिङमा प्याक एन्ड पेडलले ४० प्रतिशत छुट दिने व्यवस्था पनि उपहारमा समेटिएको छ । कोरा राइडको उपहार प्राप्त गर्न यात्राअगाडि अनलाइन दर्ता गरेर राइड पूरा गरिसक्नुपर्ने नियम रहेको अर्का साइकल अभियन्ता अशोक श्रेष्ठले बताए ।

तिब्बती बौद्ध धर्ममा कोरा भनेको भगवानलाई तपाईंको सम्मान देखाउनको लागि गरिएको कुनै पनि मन्दिरको घडीको घुमाउरो परिधि हो । यो शब्द बौद्ध धर्मबाट आएको भए पनि हिन्दुहरूले समेत आफूले पार गरेको मन्दिरको परिक्रमा गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer