बिर्तामोड, असार १२ । सक्रिय मनसुनसँगै सर्पको बिगबिगी बढ्दै गएपछि ‘मिसन बिर्तामोड’ले बिर्तामोड नगरपालिकामा सर्प उद्धार तथा जनावर अधिकारको बारेमा प्रयोगात्मक अभ्यास सम्पन्न गरेको छ ।
नगरपालिका परिसरमा भएको कार्यक्रममा यो मौसममा पानीका कारण सर्पको बासस्थान डुब्ने हुँदा घरभित्र पस्ने भएकाले सोही विषयमा जानकारीमुलक प्रयोगात्मक अभ्यास गरिएको हो ।
पछिल्लो समय सामाजिक अभियानको रुपमा उदाएको मिसन बिर्तामोडले नगर क्षेत्रभित्र सर्प उद्धारका लागि काम गर्ने मिसनका संयोजक माधव झाले जानकारी दिए ।
नगरबासीका सहजताका लागि दुईजना सर्प उद्धारकर्ता राखेर काम सुरु गरिएको हो । सर्प उद्धारका लागि ९७०२६८८४८५ र ९८१४९७५६५६ मा सम्पर्क गर्न सकिने झाले बताए ।
बर्खामा सर्पहरु घर, अफिस तथा मानव बसोबास क्षेत्रमा प्रवेश गर्ने त्रास फैलिने हुँदा सर्पलाई नचलाउन झाले आग्रह गरेका छन् ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा नम्बर ३ का वडा अध्यक्ष मदन बुढाथोकीको उपस्थितिमा गरिएको कार्यक्रममा सर्पको महत्व, असर र सावधानीको उपायहरुबारे जानकारी गराइएको थियो ।