दमक, असार १३ । झापाको गौरीगञ्ज गाउँपालिकामा खोलामा डुबेर आज अर्का एकजना पुरुष बेपत्ता भएका छन् । हिजो एक बालक बेपत्ता भएका थिए ।
गौरीगञ्ज-१ स्थित कमल खोलाले बगाउँदा ढेबुबस्तीका ढेबु मुर्मूका छोरा अन्दाजी ४० वर्षीय लखिराम मुर्मू बेपत्ता भएको गौरीगञ्ज वडा नम्बर १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले झापा टुडेलाई जानकारी दिए ।
आज दिउँसो ४ बजे ढेबुबस्ती नजिकै रहेको कमल खोला तर्ने क्रममा मुर्मूलाई खोलाले बगाएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयबासीले उनको खोजी गरिरहे पनि साँझ ६ बजेसम्म भेटिएका छैनन् ।
हिजो साँझ गौरीगञ्ज-१ मा बनियानी खोलाले बगाउँदा १३ वर्षीय मिलन विक बेपत्ता भएका थिए । विक पनि हालसम्म भेटिएका छैनन् ।