२०८१ मंसिर १० सोमबार
Jhapa Today
Adv top
Adv below_nav

मर्मत अभावमा झापाका १७५ वटा सिसी क्यामेरा प्रयोगविहीन


बिर्तामोड, असार २० । झापाका मुख्य सडक र चोक बजारमा जडान गरिएका सिसी टिभी क्यामेरा बिग्रिएर प्रयोगविहीन भए पनि मर्मतमा कसैले चासो दिएको छैन ।

सुरक्षाका दृष्टिकोणले सम्वेदनशील मानिने जिल्लाका मुख्य सडक र चोकहरूमा जडान गरिएका सिसी क्यामेरा चट्याङ, अनियमित विद्युत आपूर्ति, सडक विस्तारले खराब भए पनि मर्मत सम्भारको अभावले प्रयोगविहीन बनेका हुन् ।

प्रविधिको प्रयोगले सुरक्षा अवस्था निगरानी गर्ने उद्देश्यका साथ प्रहरी र स्थानीय संघसंस्थाको सहयोगमा लाखौँ खर्चिएर काँकरभिट्टा, धुलाबारी, बिर्तामोड, सुरुङ्गा, दमक लगायतका स्थानमा ५४८ वटा सिसी क्यामेरा जडान गरिएको छ ।

जडान गरिएकामध्ये १७५ वटा सिसी क्यामेरा लामो समयदेखि बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

मुख्य सहरका राजमार्गमा जडान गरिएका अधिकांश सिसी क्यामेरा मर्मत सम्भारको अभावमा खिया लागेर थोत्रिन थालेका उनी बताउँछन् । बजेट अभावका कारण मर्मत सम्भार गर्न नसकिएको उनी बताउँछन् ।

अपराध नियन्त्रण र प्रमाण सकंलनको भरपर्दो माध्यमका रुपमा प्रयोग भइरहेका सिसी क्यामेराहरू बिग्रिँदा सुरक्षा चुनौती बढ्दै गएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला बताउँछन् ।

विशेषगरी सिसी क्यामराको सहयोगमा दुर्घटना गराएर भाग्नेहरूलाई समाउन धेरै सजिलो हुने भए पनि पछिल्लो समय एसियन हाइवे सडक विस्तारले भने भएको सिसी क्यामरामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए ।

जसका कारण दुर्घटना गराएर भाग्ने सवारी साधन पहिचानमा प्रहरीलाई समस्या उत्पन्न हुन थालेको उनको भनाइ छ । कुनै पनि घटनाको अनुसन्धान, विश्लेषण गर्न सिसी टिभी रेकर्डेड छ भने धेरै कुरामा सहयोग पुग्ने झापाका प्रहरी प्रमुख एसपी मिलन केसी बताउँछन् ।

सिसी टिभी बिग्रिएको वर्षौं बितिसक्दा पनि यसको मर्मत सम्भार नहुँदा दिनदहाडै चोरी लुटपाट र डकैतीका घटनाहरू समेत बढ्न थालेका छन् ।

बिर्तामोड क्षेत्रमा पनि धेरै सिसी क्यामरा बिग्रिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी प्रकाश विष्ट बताउँछन् ।

सिसी क्यामेराको दीर्घकालीन व्यवस्थापन कुन स्रोतबाट कसरी गर्ने भन्ने योजनाबिना सिसी क्यामेराहरू जडान गरिएका कारण मर्मत सम्भारमा समस्या उत्पन्न भएको सरोकारवालाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer