२०८१ असार २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

बाहुनडाँगीमा जोड्यो हात्ती आएको सूचना दिने ‘जिपिएस एप्स’


मेचीनगर, असार २१ । हात्तीको समस्याबाट पीडित क्षेत्र झापाको बाहुनडाँगीमा जडान गरिएको हात्ती आउन लागेको सूचना दिने ‘जिपिएस एप्स’ को उद्घाटन गरिएको छ ।

सभामुख देवराज घिमिरेले नेपालमै पहिलोपल्ट मेचीनगर ४ को बाहुनडाँगीमा सञ्चालनमा ल्याइएको हात्ती आगमनको सूचना दिने ‘जिपिएस एप्स’को आज एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

उनले हात्तीलाई तर्साउने र लखेट्ने पुरानो तरिका छाडेर अब सहअस्तित्वका आधारमा हात्तीमैत्री वातावरण निर्माण गरेर मानव र हात्तीबीचको द्वन्द्व न्यूनीकरण गर्नुपर्ने बताए ।

सो जिपिएसको नियन्त्रण कक्ष बाहुनडाँगीको छोटी भन्सार कार्यालयमा राखिएको छ । यो एप्स आजदेखि सञ्चालनमा ल्याइएको हो ।

बर्दियाको उज्यालो नेपाल र समाजका लागि युवा सहकार्य नामक संस्थाको संयुक्त पहलमा यो प्रविधि बाहुनडाँगीमा ल्याइएको वडा अध्यक्ष अर्जुनकुमार कार्कीले बताए । यसका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले आर्थिक सहयोग गरेको छ ।

हात्ती कहाँ डुलिरहेको छ र कता जाँदैछ भन्ने जानकारी सर्वसाधारणबाट लिएर आरआरटी नामक स्वयमसेवी युवाहरुको समूहलाई जानकारी दिने र आवश्यक परेमा नजिकको प्रहरीसमक्ष सूचना पुर्याउने कार्य नियन्त्रण कक्षले गर्ने बताइएको छ ।

गाउँमा हात्ती आएपछि जोकोहीले यो एप्स खोलेर आफ्नो लोकेसन एट्याच गर्न सक्छन् । जसका कारण नियन्त्रण कक्षमा साइरन बज्ने व्यवस्था मिलाइएको छ । अर्थात हात्ती गाउँ पसेको सूचना एप्समार्फत साइरनले दिनेछ ।

यो प्रविधि जिपिएस प्रणालीमा आधारित भएको उज्यालो नेपालका विज्ञ रमेश नेपालले बताए । एप्स निर्माणमा १० लाख रुपैयाँ खर्च भएको वडा अध्यक्ष कार्कीले बताए ।

मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीको अध्यक्षतामा बाहुनडाँगी बजारमा आयोजित उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य रविन कोइराला, नगर उपप्रमुख मीना पोखरेल, प्रमुख प्रशासकीय अधिकृत अग्नि अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer