२०८१ कार्तिक २ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

साउने सङ्क्रान्ति पर्व मनाइँदै


बिर्तामोड, साउन १ । आज साउने सङ्क्रान्ति पर्व स्नान, दान र धार्मिक कर्म गरेर मनाइँदैछ । साउनदेखि सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन पनि सुरु हुन्छ ।

सौरमास अनुसार साउन १ गतेदेखि सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ ।

माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाउने गरिन्छ ।

अधिकांश नेपाली असार महिना खेतीमा व्यस्त हुँदा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोगको उपचारका लागि साउन १ गते लुतो फाल्ने गरिन्छ ।

एक महिनाभरि काम गर्ने किसान साउन १ गते आफन्तका साथमा जम्मा भई रमाइलो समेत गर्छन् ।

परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फ्याँक्ने चलन पनि छ ।

लुतो फाल्दा आआफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ ।
साउन महिनालाई विशेष रुपमा भगवान शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ ।

महिलाले साउन महिनामा हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने प्रचलन पनि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer