२०८१ भदौ २३ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडमा सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन


बिर्तामोड, साउन ७ । बिर्तामोड नगरपालिकाले ‘पारीको होइन बारीको खाऊँ’ भन्ने मुख्य नाराकासाथ सञ्चालनमा ल्याएको सामुदायिक तरकारी बिक्री केन्द्रको उद्घाटन गरिएको छ ।

आज (सोमबार) एक कार्यक्रमको आयोजना गर्दै वडा नम्बर ५ स्थित तमुटोलमा सुरु गरिएको तमुटोल सामुदायिक तरकारी बिक्री केन्द्रको औपचारिक उद्घाटन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि नगरकी कार्यवाहक नगर प्रमुख सीता ढुंगानाले बिक्री केन्द्रको उद्घाटन गरिन् ।

नगरपालिकाले पाँचवटा तरकारी बिक्री केन्द्र, चारवटा संकलन तथा बिक्री केन्द्र र एउटा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ ।

वडा नम्बर १ मा अतिथिसदन, वडा नम्बर ३ मा बिर्ताबजार, वडा नम्बर ४ मा सुलभ, वडा नम्बर ५ मा तमुटोल र पाथिभरा बालाजी सामुदायिक तरकारी बिक्री केन्द्र स्थापना गरिएको छ ।

त्यस्तै, बुट्टाबारी, गरामनी, चारपाने र सैनिकबजारमा संकलन तथा बिक्री केन्द्र र कृषिथोक बजारमा मुख्य संकलन तथा बिक्री केन्द्र स्थापना गरिएको छ ।

नगरका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले स्थानीय कृषिजन्यवस्तुको बजारीकरण, विषादी न्यूनीकरण र अन्य कृषिबजारको तुलनामा सुलभ मुल्यमा तरकारी बिक्री तथा संकलन केन्द्रको विशेषता रहेको जानकारी दिए ।

उनले स्थानीय कृषकले उत्पादन गरेका सबै प्रकारका तरकारी तोकिएका संकलन केन्द्रबाट मात्रै खरिद गरिने बताए । बिक्री केन्द्रमा पुर्याउनुअघि तरकारीमा विषादी मापन गरिनेछ । विषादीरहित खान योग्य तरकारी मात्रै बिक्री गरिने कृषि शाखाले जनाएको छ ।

बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षको योजनाअनुसार तरकारी बजार व्यवस्थापन कार्यक्रम अघि बढाएको हो । बिर्तामोडमा ११७ जना व्यावसायिक तरकारी कृषक रहेका छन् ।

सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन कार्यक्रममा नगरकी कार्यवाहक नगर प्रमुख सिता ढुंगाना, वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाईं, कार्यपालिका सदस्य संगीता सिवा लगायत जनप्रतिनिधि तथा कृषक, उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer