बिर्तामोड, कात्तिक ९ । टाइब्रेकरमा बाहुनडाँगीको डि एफसीलाई हराउँदै बिर्तामोडको रेड स्टार एफसी न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा डि एफसीलाई सडन डेथमा ५-४ गोल अन्तरले हराउँदै रेड स्टार सेमिफाइनलमा प्रवेश गरेको हो ।
यसअघि निर्धारित समयको खेलमा बाहुनडाँगीका लागि निशान्त प्रधानले २६ औँ र ६४ औँ मिनेटमा गोल गरे । त्यस्तै, रेड स्टारका लागि चौथो र ५० औँ मिनेटमा बबिन बोहोराले गोल गरे ।
खेलको प्लेयर अफ द म्याच रेड स्टारका बोहोरा भए । उनले नगद २ हजार पाए ।
बिर्तामोड-७ स्थित स्थानीय सुन्दर निचाझोडा वनको सुन्दर डाँडा खेलमैदानमा जारी खेलमा भोलि अन्तिम क्वार्टर फाइनल खेलमा ब्रदर्श युनाइटेड चन्द्रगढी र जलथल एफसी आपसमा भिड्ने छन् ।
प्रतियोगिताको विजेताले नगद ५१ हजार र उपविजेताले नगद ३१ हजारसहित आकर्षक ट्रफी पाउनेछ । प्रत्येक खेलको प्लेयर अफ द म्याच बन्ने खेलाडीले नगद २ हजार पाउने छन् ।
विधागततर्फ पाँचवटा विधामा जनही ३३ सय र बेस्ट प्लेयर बन्ने खेलाडीले ट्रफीसहित नगद ५ हजार पाउने आयोजकले जनाएको छ ।