बिर्तामोड, चैत २० । ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर झापा जिल्ला सहकारी संघ लिमिटेडले विभिन्न विधामा उत्कृष्ट सहकारी संस्था तथा व्यक्तिहरूलाई सम्मान गरेको छ ।


बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित समारोह सहकारी अभियानको उपलब्धि, चुनौती र आगामी दिशामाथि केन्द्रित रह्यो । कार्यक्रममा परिवेश मिडियाका प्रधान सम्पादक पुष्प खड्का उत्कृष्ट सञ्चारकर्मीको रूपमा पुरस्कृत भए । उनलाई नगद १० हजार ५५५ रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट र संघका अध्यक्ष प्रेमकुमार सापकोटाले संयुक्त रूपमा पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । सो अवसरमा सहकारी क्षेत्रका विभिन्न विधामा उत्कृष्ट संस्थाहरूलाई समेत नगद १० हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको थियो ।

उत्कृष्ट बचत तथा ऋण सहकारीतर्फ दमकको डाँफे साकोस, कृषि सहकारीतर्फ कमल गाउँपालिकाको लखनपुर सानाकिसान, बहुउद्देश्यीयतर्फ गौरादहको जुरोपानी सहकारी संस्था, बचत कारोबारतर्फ बिर्तामोडको गौरवशाली साकोस तथा कर्जा कारोबारतर्फ अर्जुनधाराको ऋद्धिसिद्धि महिला कृषि सहकारी संस्था पुरस्कृत भए ।

त्यस्तै, उत्कृष्ट व्यवस्थापन (महिला) तर्फ हल्दिबारीकी उमा राई र मेचीनगरकी अनिता गुरागाईं तथा पुरुषतर्फ मोहन अधिकारी र माउन्टेन गुरुङलाई जनही ५ हजार ५५५ रुपैयाँसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा उत्प्रेरक सौनक भट्टले सहकारी अभियानलाई ऊर्जा दिने उद्देश्यले मनोरञ्जनात्मक प्रस्तुतिसहित प्रेरणादायी सन्देश दिएका थिए ।
संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाले गरेका थिए ।







