बिर्तामोड, मंसिर ५ । आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भद्रपुर झापा गोल्डकप स्वर्गीय गम्भीर राई स्मृति संस्करणको ब्यानर तिलिचो ताल पुर्याइएको छ ।
शौर्य एअरलाइन्स, ओम साई पाथिभरा हस्पिटल मुख्य प्रायोजक रहेको गोल्डकपको ब्यानर उपाध्यक्ष मनोज सुब्बाले संसारकै अग्लो ताल तिलिचोसम्म पुर्याएका हुन् ।
गोल्डकपका अध्यक्ष दिपेश ढकालको आग्रहमा ब्यानर तालसम्म पुर्याउँदै देशभरिका फुटबल पारखीहरुलाई प्रतियोगिता हेर्न सुब्बाले आह्वान गरेका छन् ।
मोफसलको चर्चित फुटबल प्रतियोगितालाई फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृत दिइसकेको छ ।
आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष ढकालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भारत, भुटान, बंगलादेशका टिमको सहभागिता रहनेछ ।
२०७९ मा पहिलो संस्करणमा निकै ठुलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुनेगरी तयारी गरिने अध्यक्ष ढकालले बताए ।
सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रंगशालामा आयोजना हुने दोस्रो भद्रपुर झापा गोल्डकप पूर्वफुटबलर गम्भीर राईप्रति समर्पित गरिएको ढकालले बताए ।
प्रतियोगिताको संरक्षक भद्रपुर नगरपालिका रहेको छ भने समन्वयका रुपमा झापा जिल्ला खेलकुद विकास समितिले काम गर्दै आएको छ ।