
बिर्तामोड, फागुन ७ । राष्ट्रिय प्रजातन्त्र दिवसको अघिल्लो दिन झापाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालकुमार अधिकारीको सामाजिक सञ्जालमा नागरिकताका लागि मोटो रकम बुझाउनुपर्ने आशयको स्टोरी पोस्ट भएको छ ।
तर, अधिकारीले आफ्नो ह्वाट्स एप स्टोरीमा पोस्ट भएको सो स्टोरीबारे आफूलाई जानकारी नभएको जिकिर गरेका छन् । त्यसबारे अनुसन्धान सुरु गरिएको उनको भनाइ छ ।
‘झापाबाट सञ्जय अग्रवाल भन्ने व्यक्तिले फोन गरेर नागरिकता बनाउन धेरैले मोटो रकम बुझाउनुपर्ने अवस्था रहेको सुनाएको उनले संसदमा सुनाइन्’, अधिकारीको ह्वाट्स एप स्टोरीमा यस्तो पोस्ट भएको हो ।
अधिकारीले प्रयोग गर्ने मोबाइल नम्बरको ह्वाट्स एपमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमको भाषण पोस्ट भएको थियो । जुन कुरा गौतमले केही दिनअघि संसदमा बोलेकी थिइन् ।

नागरिकता बनाउन मोटो रकम दिनुपर्ने बताएका सञ्जय अग्रवाल कहाँका को व्यक्ति हुन् भन्ने खुलिसकेको छैन ।
केहीले उनी झापा भद्रपुरका रहेको चर्च गरेका छन् भने केहीले बिर्तामोडका हुन सक्ने अनुमान लगाएका छन् ।