
बिर्तामोड, फागुन १७ । झापाको भद्रपुरमा ठुलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा तनहुँ भानु नगरपालिका–१२ कवाजित निवासी २४ वर्षीय सुदिप विक र सुनसरी रामधुनी नगरपालिका–३ सिंघिया निवासी २७ वर्षीय हिरालाल विक रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भद्रपुर मातहत रहेको बिओपी महेशपुरको टोलीले शुक्रबार साँझ ६ बजे भारतबाट बा. ९० प १६७५ नम्बरको स्कुटर चढेर नेपाल आउँदै गरेका उनीहरूलाई भद्रपुर–३ मेचीपारिस्थित झोलुङ्गे पुलमा शङ्का लागेर जाँच गरेका थिए ।
सशस्त्रले उनीहरूको शरीर खनतलासीसँगै स्कुटर पनि जाँच गरेका थिए । सशस्त्र प्रहरीले उनीहरूको साथबाट प्लास्टिकसहित ३०१ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
स्कुटरको ब्याट्री रहने बक्सभित्र लुकाइछपाई राखिएको तीनवटा पोकामा २९८ ग्राम र एउटा पोकामा ३ ग्राम ब्राउन सुगर भेटिएको थियो । उनीहरूले ब्राउन सुगर भारतीय सीमावर्ती बजारबाट खरिद गरी ल्याएको र काठमाडौँ पठाउन खोजेका थिए ।
सशस्त्रले बरामद गरेको ब्राउन सुगरको नेपाली बजार मूल्य ३५ देखि ४० लाख हुने अनुमान गरिएको छ । सशस्त्र प्रहरीले दुवैजनालाई ब्राउन सुगर, नगद १६ हजार ४१० रुपैयाँ, दुई थान मोबाइल र स्कुटरसहित आवश्यक कारबाही लागि वडा प्रहरी कार्यालय भद्रपुर बुझाइसकेको छ ।