२०८२ असार २३ सोमबार
Jhapa Today
Adv top

अस्पतालमा रहेका बिर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटीलाई कारागार पठाइने


बितामोड, फागुन २६ । कारागार चलानको अदालती आदेशपछि पनि करिब दुई महिनादेखि बिएन्डसी अस्पतालमै रहेका बिर्तामोड नगरपालिकाका पूर्वनगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई कारागार पठाइने भएको छ ।

उनको स्वास्थ्यमा धेरै सुधार आएकाले कारागार पठाउने तयारी गरिएको हो । पूर्वनगरप्रमुख शिवाकोटीको स्वास्थ्यमा धेरै सुधार आएकाले कारागारमा ल्याउने तयारी भइरहेको झापा कारागारका प्रमुख रेवन्त भट्टराईले जानकारी दिए ।

उनले शिवाकोटीलाई राख्न झापा कारागारमा भौतिक संरचना थप गर्ने कि सुविधा भएको अर्को कारागारमा पठाउने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिए ।

गत पुस २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । आदेशमा अस्वस्थ्य रहेका शिवाकोटीको उपचारको व्यवस्था मिलाउनसमेत भनिएको थियो ।

त्यही आदेशबमोजिम झापा कारागारले उनलाई बिएन्डसी अस्पतालमा रहेर उपचार गर्न दिएको हो ।

झापा जिल्ला अदालतले थुनामा राख्न दिएको आदेशविरुद्ध शिवाकोटीले उच्च अदालत इलाममा पुनरावेदन दिएका छन् । झापा जिल्ला अदालतको आदेश बदर गरी पाउँ भन्दै उनले ७३ नम्बरअन्तर्गत निवेदन दिएका हुन् ।

यसैबीच, झापा जिल्ला अदालतले आगामी चैत ११ गते बकपत्रका लागि बोलाएको पीडित बालिकाका एक आफन्तले जानकारी दिएका छन् ।

घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिवाकोटी गत मंसिर २४ गते पक्राउ परेका थिए ।

Adv footer