
बितामोड, फागुन २७ । लेनदेनको विवादमा हतियार प्रहार गरी तीनजनालाई घाइते बनाएको घटनामा संलग्न भएको आरोपमा खगेन्द्र खालिङ राई पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र खड्काका अनुसार उनलाई बिर्तामोड २ चारपानेबाट आज ११ः३० बजे पक्राउ गरिएको हो । अन्य संलग्नहरुको पहिचान गरी खोजी भइरहेको उनले जानकारी दिए ।
मध्यरातमा बिर्तामोड-४ स्थित अन्नपूर्णचोकमा हतियार प्रहार भएको हो । खालिङ केही वर्षदेखि भद्रपुररोडमा गणेश प्रसाईंको घरमा डेरा लिई बस्दै आएका छन् ।
विवादका क्रममा धारिलो हतियार प्रहार हुँदा बिर्तामोड-४ का ३७ वर्षीय खगेन्द्रराज आङदम्बे, बिर्तामोड-९ का ३५ वर्षीय विश्वदीप राजवंशी र बिर्तामोड-४ का ३० वर्षीय अजय खवास घाइते भएका छन् । घाइतेहरुको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरुलाई खालिङलगायतको २–३ जनाको समूहले धारिलो हतियार प्रहार गरी कुटपिट गरी घाइते बनाएको बताइएको छ । हिजो राति १२ः४५ बजे बिर्तामोड ४ भद्रपुररोडस्थित दरबार रेस्टुरेन्टमा उनीहरुले सँगै खाएका थिए ।
त्यसपछि खालिङ र उनका भतिजा दुर्गा खालिङ कोठा फर्किएका थिए । कोठामा आएर खालिङले आङदेम्बेलाई बोलाएर हतियार प्रहार गरेको बताइएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिकाको भालुचोक घर भएका खालिङले ताप्लेजुङको काबेली हाइड्रोपावर हेर्ने गरेका थिए । त्यस हाइड्रोपावरसँगको लेनदेनको विषयमा दुवै साथीबीच विवाद परेको बताइएको छ ।