
बिर्तामोड, चैत १५ । प्रहरीले झापा बिर्तामोडकी एकजना महिलालाई वैदेशिक रोजगारीको लागि बुल्गेरिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा बिर्तामोड-४ की ५७ वर्षीया आशा परियार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार परियारले बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभन देखाउँदै रकम असुल्दै आएकी थिइन् ।
उनलाई कीर्तिपुर-९ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको जिसीले जानकारी दिए ।
रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्याउँदै परियार सम्पर्कविहीन भएपछि पीडितहरुले कार्यालयमा जाहेरी दिएका थिए ।
उनीविरुद्ध दुई लाख रुपैयाँको बिगो रकम माग दाबी गरिएको कार्यालयले निकालेको सूचनामा उल्लेख गरिएको छ ।