
बिर्तामोड, चैत १७ । गायन रियालिटी सो द भ्वाइस अफ नेपालको सिजन ६ को टप १२ मा पुगेका इलामको रोङका प्रमेश राईलाई जिताउन गाउँपालिका नै लागिपरेको छ ।
राईलाई भोट दिएर जिताइदिन प्रमेश राई जिताउ अभियानका तर्फबाट गाउँपालिकाले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर आग्रह गरेको छ ।
भोटिङ राउन्डमा प्रवेश गरेका राईलाई बढीभन्दा बढी भोट गरेर जिताइदिन रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) ले आग्रह गरे ।
प्रमेश राई पूर्वकै प्रतिभा भएको बताउँदै उनले अब अगाडि बढ्न भोटको आवश्यक परेकाले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई भोट दिन आग्रह गरे ।
रोङ गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले रोङ गाउँपालिका मात्र नभएर इलाम जिल्लाले बहुप्रतिभाशाली प्रतिभा पाएको बताउँदै राईलाई भोट दिएर जिताइदिन आग्रह गरिन् ।
सरगम संगीतालय बिर्तामोडका प्रबन्धक दिपक रायमाझीले गायक राई सरगम संगीतालयका प्रतिभाशाली विद्यार्थी भएको बताउँदै उनलाई जिताइदिन भोट दिन आग्रह गरे ।
उनले खल्ती एप डाउनलोड गरी टिम राजुमा गएर गायक राईलाई भोट गर्न सकिने र क्युआरमार्फत पनि भोट गर्न सकिने बताए ।
कार्यक्रममा वरिष्ठ गीतकार शिवशंकर थापा, संगीतकार कृष्ण योञ्जनलगायतले गायक राईलाई भोट दिएर द भ्वाइस अफ नेपालको सिजन ६ को विजेता बनाउन आग्रह गरे ।
कार्यक्रममा गायक राईले सबैको सहयोगले आफू यो स्थानमा पुग्न सकेको बताउँदै अब अगाडि बढ्न भोटको आवश्यक परेकाले बढीभन्दा बढी भोट गरिदिन आग्रह गरे । आफूले सरगम संगीतालय बिर्तामोडमा संगीत सिकेर अगाडि बढेको उनको भनाइ छ ।
राईलाई जिताउन सरगम संगीतालय, शान्तिपुर-झापा एकता समाज, रोङ-झापा सम्पर्क समिति, रोङ विद्यार्थी एकता समिति, इलाम-झापा मैत्री समाज, झापा-ताप्लेजुङ सरोकार समाज र प्रमेश राई जिताउ अभियान समितिले बिर्तामोडमा पत्रकार सम्मेलन गरेका हुन् ।