
झापा, चैत २६ । झापाको अर्जुनधारा नगरपालिका–१ स्थित हलुवागढ सामुदायिक वनभित्र सडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
स्थानीय बासिन्दाले घाँस काट्ने क्रममा आप खोल्सी भन्ने स्थानमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीका अनुसार शव पूरै सडिएको अवस्थामा फेला परेको र पहिचानका लागि कठिनाइ भए पनि लुगाफाटोको आधारमा मृतककी कान्छी छोरी देविका खड्का खनाल घटनास्थलमै पुगेर शवको पहिचान गरेकी हुन्।
शव इलाम जिल्लाको रोङ गाउँपालिका–२ निवासी ६० वर्षीया सीतादेवी खड्काको भएको खुलेको छ। मृतक खड्का माघ २८ गतेदेखि हराइरहेकी थिइन्। परिवारले उनको हराएको बारे माघ ४ गते अस्थायी प्रहरी चौकी बरफल्याङमा हुलियासहितको निवेदन दर्ता गराएको थियो।
शव अत्यधिक सडिएको अवस्थामा भेटिएकोले मृत्युको कारण खुलेको छैन। यसबारेमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार पारेर शव पोस्टमार्टमका लागि पठाएको छ भने आवश्यक अनुसन्धान जारी रहेको बताएको छ।