बिर्तामोड, बैशाख १८ । आज मे १ तारिखदेखि १५ तारिखसम्म उपभोक्ताका लागि केही राहत हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
निगमका अनुसार आज बिहान १२ः०१ बजेबाट लागु हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाइ इन्धनको मूल्य घटाइएको हो ।
निगमले दिएको जानकारीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाइएको छ । त्यस्तै, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँको कटौती गरिएको छ ।
आन्तरिक उडानमा प्रयोग हुने हवाइ इन्धनको मूल्य पनि प्रतिलिटर १ रुपैयाँले घटाइएको निगमले जनाएको छ ।
पछिल्लोपटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य केही घटेको सन्दर्भमा निगमले मूल्य समायोजन गरेको हो । यद्यपि, खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
छोटो अवधिमा भए पनि इन्धन सस्तो हुनुले यातायात भाडादर र उत्पादन लागतमा पनि असर पार्नसक्ने आँकलन गरिएको छ ।
पहिलो वर्ग अर्थात झापासहित तराईका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ ५० पैसा कायम भएको छ ।