२०८२ बैशाख १८ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

औद्योगिक पार्कको ३०० बिघामा भारतीयको मकैखेती, प्रशासन बेखबर


पार्क क्षेत्रमा भारतीयले लगाएको मकैखेती । तस्बिरः सारासंसार डटकम

दमक, बैशाख १८ । नेपाल–चीनमैत्री औद्योगिक पार्कको तीन सय बिघा जग्गामा भारतीयले अवैध रूपमा मकैखेती गरिरहे पनि प्रशासनले अवरोध गर्न सकेको छैन ।

मकैखेती भएकोबारेमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र जिल्ला प्रशासन दुवै जानकार छन् । तर, औद्योगिक क्षेत्र र प्रशासन दुवैले नरोकेका हुन् ।

कसको अनुमतिमा कसरी भारतीयले खेती गरे भन्नेमा स्थानीय प्रशासनदेखि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसम्मले अनभिज्ञता जनाएका छन् ।

दमक– १०, गौरादह–५ र कमल–७ को रतुवा नदी बगरनजिक रहेको औद्योगिक क्षेत्रको जग्गामध्ये गौरादह र कमल क्षेत्रको तीन सय बिघामा गत वर्षदेखि मकैखेती हुन थालेको हो ।

गौरादहका मेयर छत्रपति सुवेदीले गौरादह र कमलमा गरी करिब तीन यस बिघा जग्गामा मकैखेती लगाएको पाइएको जानकारी दिए ।

चार वर्षअघि पार्कको शिलान्यास भए पनि नर्माणको काम अलपत्र हुँदा खाली जग्गामा अनधिकृत रूपमा मकैखेती भइरहेको हो । मकैखेती गरिएको क्षेत्र नेपाल–भारत सीमादेखि २० किलोमिटरभित्र पर्छ ।

सरकारले त्यस क्षेत्रमा जग्गा अधिग्रहण गर्दा करिब एक अर्ब २२ करोड खर्च गरेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ । तर, पार्क अलपत्र छाडिँदा अतिक्रमणको खतरा बढेको हो ।

पार्क क्षेत्रमा लगाइएको मकैखेतीमा केही भारतीय युवा भेटिए पनि आफूहरू मकै रुँग्न आएको, तर कसको अनुमतिमा मकैखेती लगाएको भने बोल्न चाहेनन् ।

गत वर्ष थोरै ठाउँमा मकै लगाइएको भए पनि यस वर्ष धेरै क्षेत्रमा लगाइएको गौरादहका मेयर सुवेदीले बताए ।

यसैबीच, गौरादह–५ का अम्बिका चेम्जोङले गत वर्ष थोरै ठाउँमा सुरु गर्दा नै विरोध गरे पनि मकैखेती भइरहेको बताए । यस वर्ष धेरै भूभागमा मकैखेती भएको उनले बताए ।

स्थानीयबासी अनिरुद्र गौतमका अनुसार भारतीय नागरिक सवारीसाधन लिएर त्यहाँ मकैखेती गर्न आउने गरेका छन् ।

त्यहाँ मकै लगाउने बेला, मल लगाउने बेला, गोड्ने बेला र उठाउने बेलामा भारतीय आउने गरेको भए पनि अरू बेला नदेखिने उनले बताए ।

भारतीय सवारीसाधनमा आउने उनीहरूले ठेक्का बुझाउनुपर्ने भन्ने गरेको भए पनि कसलाई बुझाउने भन्ने नखुलाउने गौतम बताउँछन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी कृष्णबहादुर पुनले अध्ययनका लागि लिमिटेडले पनि प्राविधिक टोली पठाउने तयारी रहेको बताए ।

सरकारी जमिनमा मकै लगाएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालय झापाले इलाका प्रशासन कार्यालय गौरीगन्जका प्रमुख शिवप्रसाद सुवेदीको नेतृत्वमा प्रहरीसहितको टोली अनुगमनमा पठाएको थियो । अनुगमनका क्रममा अज्ञात व्यक्तिले अवैध रूपमा मकैखेती गरेको पाइएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी तेजप्रकाश प्रसाईंले सरकारले अधिग्रहण गरेको जग्गामा भारतीय नागरिकले ठेक्का लिएर मकैखेती लगाएको देखिएको बताए ।

‘त्यो जग्गा हडप्न खोजेकोजस्तो देखिन्छ,’ उनले भने, ‘इलाका प्रशासन गौरीगन्जका प्रमुखसहितको टिमले हेरेर आउनुभएको छ । अब प्रतिवेदन बन्छ । प्रतिवेदन आएपछि त्यहीअनुसार हामी प्रक्रिया अघि बढाउँछौँ ।’

Adv footer