
बिर्तामोड, बैशाख २० । नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज गर्न भारतको सिलुगढीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन र ग्रिनफिल्ड टर्मिनल निर्माण प्रक्रिया अघि बढिसकेको छ ।
भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी)ले झापामा पेट्रोलियम पाइपलाइन र एउटा ग्रिनफिल्ड टर्मिनल निर्माण प्रक्रिया अघि बढाएको हो ।
भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन र झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), वातावरणीय प्रभाव मूल्यांकन (इआइए), साइट क्लियर लगायतको प्रक्रिया अगाडि बढिसकेको छ ।
नेपाल आयल निगम आपूर्ति तथा वितरण विभागका उपनिर्देशक तथा प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार अबको प्रक्रिया भनेको टेन्डर हुने, त्यसपछि काम सुरु हुने, त्यसका लागि आइओसीले ६ महिनाको समय मागिएको छ ।
झापामा ग्रिनफिल्ड टर्मिनल निर्माण स्थलको जग्गा फिलिङ, बाउन्डरी वाल लगायतको काम गरेर आइओसीलाई दिने भनिएको उनले बताए ।
पाइपलाइन बिच्छाउने ठाउँमा माटो परीक्षणको काम पनि सकिसकेको छ । टर्मिनल निर्माण स्थलमा माटो परीक्षणको काम भइरहेको उनले बताए ।
सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन परियोजनाका प्रमुख सुरेन्द्र महतोका अनुसार चालु आर्थिक वर्ष ०८१÷८२ बाट झापामा परियोजनाको काम सुरु भएको हो ।
काँकरभिट्टाको मेची पुलदेखि चारआलीसम्मको पाइपलाइन विस्तारका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) बारेमा मेचीनगर नगरपालिकासँग बैठक बसी पहिलो चरणको काम भइसकेको छ ।
परियोजना प्रमुख महतोले भने, ‘अहिले एसियन हाइवे निर्माणको काम चलिरहेको छ, पहिला रुट सर्वे गर्दा सडकमा त्यति धेरै कल्भर्ट र पुलहरू थिएन्, अहिले ठाउँठाउँमा कल्भर्ट र पुलहरू बनिरहेकोले पाइपलाइन विस्तारमा केही समस्या आइपरेको छ ।’
सडकको छेउै छेउबाट पाइपलाइन ल्याउने रुट बनाइएको छ । ती समस्या समाधानका लागि आइओसीबाट पनि प्राविधिक टोली झापामा आइपुगेको र सडक विभागसँग सहकार्यमा पुनः सर्वेको काम गरिरहेको प्रमुख महतोले बताए ।

एसियन हाइवेमा कल्भर्ट र पुलहरूको समस्या नआएको भए झापाको हकमा अहिलेसम्म आइओसी टेन्डर प्रक्रियामा गइसक्थ्यो । पुनः रुट सर्वेक्षणको काम गर्नु परेकाले पाइपलाइन विस्तारमा ढिला हुन पुगेको उनको भनाइ छ ।
सिलिगुडी–चारआली पाइपलाइन विस्तार करिब ५० किलोमिटर हुनेछ । भारतीय भूभाग (सिलगुढीदेखि पानीट्यांकीसम्म) मा ३५ किलोमिटर र नेपाली भूभाग (काँकरभिट्टादेखि चारआलीसम्म) मा १४ दशमलव ६ किलोमिटर रहेको उनले बताए ।
‘पाइपलाइन बनेपछि देशको ठूलो ढुवानी खर्च जोगिन्छ,’ उनले भने, ‘चारआलीको भण्डारण स्थलमा ५ वटा डिपो बनेपछि कोशी प्रदेशका १४ जिल्लामै इन्धन आपूर्तिमा सहज हुन्छ ।’
सरकारले २०७४ सालमै सिलिगुडी–झापा पाइपलाइन परियोजना अघि सारेको थियो । निगमले भण्डारणस्थल निर्माणका लागि २०७४ मै मेचीनगर नगरपालिका १३ मा स्थानीय व्यक्तिहरूबाट २३ बिघा ३ कट्ठा १३ धुर जग्गा खरिद गरेको थियो ।
भारत र नेपालबीच २०८० जेठमा दुई पाइपलाइनको सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सम्झौतापत्रमा दुई पाइपलाइन र एउटा टर्मिनल इन्डियन आयल कर्पोरेसनको लगानी र प्राविधिक सहयोग बन्ने उल्लेख छ ।
कुल २६ अर्ब ९३ करोड रुपैयाँका दुई पाइपलाइन र दुई टर्मिनलमा भारतले करिब १७ अर्ब रुपैयाँ लगानी गर्नेछ ।