
बिर्तामोड, बैशाख २२ । झापाको कनकाई नगरपालिकामा लागुऔषध बरामद गर्न र कारोबारी पक्राउ गर्न प्रहरीले हवाइ फायर गरेको छ । यद्यपि, भारतीय कारोबारी भाग्न सफल भएका छन् ।


आज बिहान ८ः४० बजे प्रहरीले सुरुंगा–झापा बजार सडक खण्डको कनकाई-५ चप्रामारीमा लागुऔषध कारोबारी भारतीय नागरिक पक्राउ गर्न हवाइ फायर गरेको हो ।


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरीले दुई राउन्ड हवाइ फायर गरे पनि कारोबारी भने पक्राउ गर्न सकेन । उनले बिआर ३७ ति ९१९८ नम्बरको मोटरसाइकल र ब्याग छोडेर भागेको प्रहरीले जनाएको छ ।


उनले छोडेको ब्यागबाट २०० ग्राम ब्राउन सुगर बरामद भएको छ । यो ठुलो मात्राको लागुऔषध हो । प्रहरीले अभियुक्तको खोजी भइरहेको जनाएको छ ।