
बिर्तामोड, बैशाख २९ । झापाको बिर्तामोडमा विभिन्न कम्पनीको नाममा प्रत्येक महिना आकर्षक उपहार पाइने र कोही पनि खाली हात नजाने लोभमा सर्वसाधारण ठगिने क्रम बढेको छ ।
बिर्तामोडमा चिठ्ठा धन्दा मौलाउँदै ग्राहकलाई रकम बुझाउन लगाउनेगरी चिठ्ठा धन्दाको सञ्जाल विस्तार भइरहँदा प्रहरी प्रशासनले रोक्न सकिरहेको छैन ।
घुमाउरो पाराले आफ्नो कम्पनीको उत्पदान बिक्री गर्ने उद्देश्यसहित चिठ्ठा बिक्रीबाट लाखौँ कमाउनेगरी बिर्तामोडमा एकपछि अर्को गर्दै करिब आधा दर्जन कम्पनीहरुले त्यस किसिमको अवैध धन्दा सञ्चालन गरिरहेका छन् ।
जसको बारेमा प्रहरी प्रशासन बेखबर छ । राजनीतिक पृष्ठभूमि भएकै व्यक्तिहरुले अवैधरुपमा चिठ्ठा सञ्चालन गरिरहेकाले प्रहरी प्रशासनले अहिलेसम्म कारबाही गर्न नसकेको बताइन्छ ।
बिर्तामोडमा ब्राभो, एनके, साँची, अजम्बरी, युएलसीजस्ता कम्पनीहरुले चिठ्ठा सञ्चालन गरिरहेका छन् । होटल किंग्सवेरीअगाडि रहेको मेची कमर्स एन्ड ट्रेड प्रालिले ब्राभो टेलिभिजन बिक्री गर्ने उद्देश्यले चिठ्ठा सञ्चालन गरिरहेको छ ।
कम्पनीले ६ हजार ९९९ जना सदस्य संख्या तोकेको छ । हालसम्म ३ हजार ५०० सदस्य पुगेको कार्यालय प्रमुख बालकृष्ण अधिकारीले बताए ।
ती सदस्यहरुले प्रत्येक महिना किस्ताको रुपमा १ हजार २९५ रुपैयाँ बुझाउँछन् । ग्राहकहरुले २७ किस्ता खेल्नु पर्ने नियम छ ।
ब्राभोले हरेक महिना ग्राहकको उपस्थितिमा बिर्तामोड–४ स्थित इन्द्रेणी ब्याङक्वेटमा चिठ्ठा खोल्ने गरेको छ । २७ महिने किस्ताको चिठ्ठा अन्तिम चरणमा पुगेको जनाइएको छ । प्रत्येक महिना उपहार दिनेगरी ग्राहकबाट रकम असुल्ने गरिएपनि मेची कमर्स एन्ड ट्रेड प्रालिका कार्यालय प्रमुख अधिकारी त्यसलाई चिठ्ठाको रुपमा बुझ्न नहुने प्रतिक्रिया दिन्छन् ।
ब्राभोले जिल्ला प्रशासन कार्यालय झापाबाट कुनै पनि स्वीकृति लिएको छैन । नेपाल सरकारबाट नै स्वीकृति लिएको कार्यालय प्रमुख अधिकारी दाबी गर्छन् ।
ब्राभोजस्तै साँची ग्रुप प्रालि, युएलसी इलेक्ट्रोनिक्सजस्ता कम्पनीले पनि आफ्ना उत्पदान बिक्री गर्ने उद्देश्यले चिठ्ठा सञ्चालन गरिरहेका छन् ।
महँगो कार, मोटरसाइकल, फ्रिज, वासिङ मेसिनजस्ता आकर्षक उपहार दिने भन्दै सञ्चालन गरिएको चिठ्ठाको लोभमा धेरै सर्वसाधारण परिसकेका छन् ।
विगत दुई दशकअघि पिके फर्निचर, डिजाइनर फर्निचरजस्ता व्यावसायिक संस्थाले घरदैलो कार्यक्रमको नाममा त्यस किसिमको चिठ्ठा सञ्चालन गरेका थिए ।
धेरैजना ठगीमा परेपछि प्रहरी प्रशासनले त्यसबेला बन्द गराएको थियो । अहिले त्यही चिठ्ठा कार्यक्रमको पुनरावृत्ति भएको हो ।
बिर्तामोडमा सञ्चालित चिठ्ठा कार्यक्रमको बारेमा सोधपुछ गर्न केही दिनअघि बिर्तामोड प्रहरीले अजम्बरीका सञ्चालकलाई बोलाएको थियो । अवैध चिठ्ठालाई वैधता दिन खोजिएको एक प्रहरी अधिकारीले बताए ।
उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालयसँग अनुमति लिएर घुमाउरो पारामा चिठ्ठा खेलाउने गरिएको ती अधिकारीले बताए ।
‘अनेक किसिमको लोभ देखाएर झुक्याउन सक्छन्’ उनले भने, ‘त्यसकारण सर्वसाधारणले त्यस्तो फन्दामा पर्नु हुँदैन ।’ उनले जिल्लाका सुरक्षा अधिकारीसँग त्यस विषयमा छलफल गर्न लागिएको जानकारी दिए ।
यसरी खोलिएका चिठ्ठा कार्यक्रमलाई जिल्ला प्रशासन कार्यालयले कुनै पनि अनुमति नदिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले स्पष्ट पारे । उनले त्यस्ता कार्यक्रमका बारेमा गुनासो आएकाले अनुसन्धान सुरु गरिसकेको जानकारी दिए ।
यसअघि बिर्तामोडमा २०६३ सालमा चिठ्ठा कार्यक्रमकै कारण तनाव हुँदा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको थियो ।