
दमक, जेठ २ । मोरङको उर्लाबारीमा ट्यांकरको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोरसाइकल चालक दमक–९ बस्ने ३६ वर्षीय मनकुमार लिम्बू रहेका छन् ।

ट्यांकरको ठक्करबाट गम्भीर घाइते लिम्बूलाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा सामान्य उपचार गरिएको थियो ।

थप उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा आज बिहानको राति १ः३५ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिजो राति ११ः१५ बजे उर्लाबारी–३ पुरानो मंगलबारेस्थित राजमार्गमा उर्लाबारीबाट पथरीतर्फ जाँदै गरेको ग. ६ प ५०२६ नम्बरको मोटरसाइकललाई पश्चिमबाट उर्लाबारीतर्फ आउँदै गरेको ना. ५ ख २१८७ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।

मोटरसाइकल र ट्यांकर चालक बारा जितपुरसिमरा उपमहानगरपालिका २२ बस्ने २९ वर्षीय अशोक थोकरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको नियन्त्रणमा राखिएको छ भने ट्यांकर अस्थायी प्रहरी पोस्ट ताराबारीमा राखिएको छ ।
