
बिर्तामोड, जेठ ४ । झापा भद्रपुरका एकजना बालक प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी आज साँझ पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नम्बर-३ ज्ञानेचोक बस्ने १७ वर्षीय आयुष तामाङ रहेका छन् । साइकलमा रहेका उनी भद्रपुर-३ आपगाँछीमा प्रहरीले जाँच गर्ने क्रममा भारतबाट भद्रपुरतर्फ आउँदै गर्दा लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीसँग प्लास्टिकले पोका पारेर लुकाइछिपाइ ल्याउँदै गरेको प्लास्टिकसहित ९ ग्राम ११० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ भने कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।
