
बिर्तामोड, जेठ ४ । जबरजस्ती करणी र जबरजस्ती चोरी मुद्दा लागेपछि भाग्दै लुक्दै आएका मेचीनगरका एकजना युवा १० वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तत्कालीन पुनरावेदन अदालत इलामको २०७२ असार १६ गतेको फैसलाअनुसार जबरजस्ती करणी र चोरी मुद्दामा १० वर्ष कैद फैसला सुनाइएका मेचीनगर ११ का ३२ वर्षीय प्रदिप राई पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले खोजतलासको क्रममा उनलाई पाँचथरको फिदिमबाट शुक्रबार पक्राउ गरेको हो ।

उनीविरुद्ध पीडितलाई १ लाख रुपैयाँ क्षतिपूर्ति भराउनु पर्ने फैसला पनि भएको थियो । फैसलापछि उनी भाग्दै लुक्दै आएको प्रहरीले जनाएको छ ।

राईलाई आज झापा जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशबमोजिम जिल्ला कारागार झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले जनाएका छन् ।