
बिर्तामोड जेठ १३ । काठमाडौँको तीनकुनेमा भएको हिंसात्माक राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंका दुईजना बडिगार्डविरुद्ध मुद्दा नचल्ने निर्णय भएपछि रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँले प्रसाईंका बडिगार्ड दिपक खड्का र रामकुमार धिमाललाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो ।

तर, जिल्ला सरकारी वकिलको कार्यालयले भने वस्तुनिष्ठ आधार प्रमाण नदेखिएको भन्दै उनीहरुलाई मुद्दा नचल्ने निर्णय गरेको थियो ।

बडिगार्डद्वयसँगै ३४ जनालाई मुद्दा नचल्ने निर्णय गरिएको थियो । यो निर्णयसँगै उनीहरू आइतबार साँझ हिरासतमुक्त भएका हुन् ।

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ परेकाहरूविरुद्ध अहिले काठमाडौँमा मुद्दा दर्ता भएको छ । प्रतिवादीहरूको बयान चलिरहेको छ ।