२०८२ जेठ १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मेचीनगरको कालिका सिमसारबाट एकैसाथ ४३ जना लागुऔषध सेवनकर्ता पक्राउ


बिर्तामोड जेठ १४ । झापाको मेचीनगरमा रहेको कालिका सामुदायिक वन क्षेत्रबाट लागुऔषध खरिद बिक्री गरिरहेकामध्ये ४३ जना सेवनकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

लागुऔषध खरिद बिक्री गर्नेहरुको अत्यधिक भिड भएको जानकारी पाएपछि हिजो साँझ प्रहरीले वन क्षेत्र घेरा हालेर उनीहरुलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशी, प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहान र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको टोलीले सेवनकर्तालाई पक्राउ गरेको हो ।

प्रहरीको संयुक्त स्विप अपरेसन टोलीले विभिन्न स्थान बस्ने ४३ जना लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरु सबै पुरुष छन् । उनीहरु अन्दाजी १५ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् ।

लागुऔषध कारोबारीहरु लागुऔषध बेच्न आएपछि उनीहरु किन्न भेला भएका थिए । पक्राउ पर्नेहरु लागुऔषध सेवनकर्ताहरु हुन् । कारोबारीहरु भाग्न सफल भएको बताइएको छ ।

पक्राउ परेका ४३ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ । उनीहरुको साथबाट लागुऔषध बरामद भएको छ । त्यसको परिमाण खुलेको छैन ।

त्यस्तै, १४ वटा मोटरसाइकल, एउटा अटोरिक्सा र एउटा मारुती भ्यान बरामद भएको प्रहरीले जनाएको छ । कारोबारीहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

Adv footer