
बिर्तामोड जेठ १४ । सरकारले वृद्ध भत्ता पाउने उमेर बढाउने तयारी गरेको छ । बिहीबार सार्वजनिक हुने बजेटमार्फत यस्तो उमेर ७० वर्ष कायम गर्ने तयारी अर्थ मन्त्रालयको छ ।

यो उमेर बढाएर ७० वर्ष पुर्याउँदा अहिले पाइरहेका लाभग्राहीको सेवा भने काटिने छैन । अहिले ६८ वर्ष पूरा भएका लाभग्राहीले मासिक ४ हजार रुपैयाँका दरले वृद्धभत्ता पाउँदै आएका छन् ।

अर्थ मन्त्रालय स्रोत अनुसार नयाँ प्रावधानअनुसार १ साउन २०८२ देखि ७० वर्ष पुग्ने लाभग्राहीले मात्र नयाँ वृद्ध भत्ता पाउने छन् । यसअघि नै ६८ वर्ष पूरा भई वृद्ध भत्ता पाइरहेकाको भने रकम काटिने छैन ।

सरकारले सामाजिक सुरक्षामा बढ्दो दायित्व न्यूनीकरण गर्न भन्दै वृद्ध भत्ता पाउने उमेर बढाउन लागेको हो ।

सरकारलाई यसअघि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत उमेर बढाउन सिफारिस गरेको थियो । मन्त्रिपरिषद्बाट यसबारे निर्णय समेत भइसकेको छ ।