
बिर्तामोड, जेठ १५ । झापाको मेचीनगरस्थित खोलामा डुबेको अवस्थामा एकजना युवाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


मेचीनगर १० खयरडाँगीस्थित टिमाई खोलामा डुबेर एकजनाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।


आज दिउँसो अन्दाजी १२ः३० बजे पहाडे मुलको जस्तो देखिने अन्दाजी ४० वर्षका पुरुषको शव टिमाई खोलामा घोप्टो परेको अवस्थामा भेटिएको थियो ।


शव देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको भनाइअनुसार मृतक ४÷५ दिन अगाडिदेखि धुलाबारी बजारमा मागेर खाँदै हिड्ने गरेका थिए ।

इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीको कमाण्डमा टोली खटिएर आवश्यक अनुसन्धान तथा मुचुल्का गर्ने कार्य सम्पन्न भई मृतकको शव प्रादेशिक अस्पताल भद्रपुरको शवगृहमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

