
बिर्तामोड, जेठ २६ । बिर्तामोड प्रहरीले सहरका घरहरुमा लगातार गहना तथा नगद चोर्ने थप तीनजनालाई पक्राउ गरेको जनाएको छ । यसअघि एकजना चोरसहित तीनजना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा बिर्तामोड-२ चारपाने बस्ने २८ वर्षीय सुरज राई, चोरीको गरगहना खरिद गर्ने बिर्तामोड-१ नारायणचोक बस्ने ४९ वर्षीय अरविन्दकुमार विश्वकर्मा (कालिगढको रुपमा कार्यरत) र शेरावाली ज्वेलर्स बिर्तामोडका सञ्चालकका छोरा सुभान्सु साह रहेका छन् ।

उनीहरुलाई हिजो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ । राईले चोरी गरेको गरगहना विश्वकर्मालाई बिक्री गरेका थिए ।

त्यस्तै, विश्वकर्माले साहलाई बिक्री गरेका थिए । चोरी गरेको ६.९९५ तोला सुन गालेर ढिक्का बनाइराखेको अवस्थामा बिर्तामोड ५ हिकोला रोडस्थित शेरावाली ज्वेलर्सबाट बरामद भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

उनीहरुले गत फागुन २२ गते बिहान अन्दाजी ११ः३० बजे अर्जुनधारा ६ दालपुलस्थित इन्दिरा रिजाल संग्रौलाको घरबाट गहना चोरेका थिए ।

संग्रौलाको घरबाट १० तोला बराबरको सुनको बाला, तिलहरी, सिक्री, मंगलसुत्र, नौगेडी, झुम्का, हिराको औँठी, ६ तोला बराबरको चाँदीको पाउजु लगायतका गरगहना चोरी भएको थियो ।

लक्ष्मी संग्रौलाकी बुहारी इन्दिरा रिजाल संग्रौला घरको ढोका तथा गेट खुल्ला राखी बच्चालाई स्कुल बस चढाउनको लागि गएकी थिइन् ।
उनी बच्चालाई स्कुल बस चढाई घर फर्किंदा घरको माथिल्लो तलामा रहेको दराजको घर्राभित्रबाट सुनको विभिन्न गरगहना गरी १५ लाख रुपैयाँबराबरको धनमाल चोरी भएको थियो ।
पक्राउ परेका उनीहरुलाई झापा जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए । यसअघि जेठ २२ गते बिर्तामोडमा चोरीमा संलग्न तीनजना पक्राउ परेका थिए ।