
बिर्तामोड, जेठ २८ । झापाको कचनकवलमा हात्ती छेक्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल ७ बैगुनबारीका ६५ वर्षीय किर्खनाथ खनाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

खनाललाई आज बिहान ८ः३० बजे आफ्नै बारीमा बाख्रा चराउन जाँदा करेन्ट लागेको हो ।

प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका खनालको घटनास्थलमै मृत्यु भएको हो ।

हात्तीले अन्न बाली क्षति नगरोस् भनेर खनाल आफैँले लगाएको तारबारमा प्रवाह भएको करेन्ट लागेर उनको मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको र जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक विजय चौहानको नेतृत्वमा प्रहरी खटिएको छ ।
