२०८२ जेठ २९ बिहीबार
Jhapa Today
Adv top

देशभर गर्मी कम हुँदै, मनसुन फैलिन एक साता लाग्ने


बिर्तामोड, जेठ २८ । देशभर केही दिनदेखि सताइरहेको अत्यधिक गर्मीबाट आजदेखि क्रमशः राहत मिल्ने मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र तापक्रम घट्दै जानेछ ।

देशको पश्चिमी क्षेत्रमा सक्रिय रहेको वर्षा गराउने प्रणाली अहिले पूर्वतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशमा आएर शिथिल बनिरहेको मनसुन आज राति वा भोलिदेखि सक्रिय भएर पश्चिमतर्फ सर्ने र आइतबारपछि मध्य क्षेत्रबाट पश्चिमतर्फ सर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् ।

पछिल्लो केही दिनदेखि तराईलगायत देशका धेरैजसो ठाउँमा तापक्रम उच्च रहेकाले जनजीवन कष्टकर बनेको थियो ।

तर, आजदेखि बादल लाग्ने र केही ठाउँमा वर्षाको सम्भावना रहेकाले गर्मीमा केही राहत महसुस हुने मौसमविद् मानन्धरले बताइन् ।

अहिले कोशी प्रदेशका धेरैजसो ठाउँमा मनसुन फैलिएको भए पनि त्यो अझै पूर्ण सक्रिय भएको छैन । महाशाखाले देशभर मनसुन फैलिन अझै ५ देखि ७ दिन लाग्न सक्ने अनुमान गरेको छ ।

अहिले कोशी प्रदेशमा पनि मनसुन शिथिल छ । बङ्गालको खाडीमा न्यून चापीय क्षेत्र बनेकाले कोशी प्रदेशमा आइसकेको मनसुन भने आज बेलुकादेखि नै सक्रिय बन्न थालेर बिस्तारै पश्चिमतर्फ सर्न थाल्नेछ ।

Adv footer