२०८२ जेठ २९ बिहीबार
Jhapa Today
Adv top

समृद्ध कोशीको पर्यटन विकासः गुराँस फुल्ने डाँडादेखि अविरल बग्ने जलधारासम्म


-विनिशा शर्मा
बिर्तामोड, जेठ २८ ।
गुराँस फुल्ने डाँडादेखि अविरल बग्ने जलधारासम्म फैलिएको छ कोशी प्रदेश । यहाँ पर्वतीय शृंखलादेखि समथर तराईको फाँटसम्म विभिन्न भूभागहरू छन्, जसले यस प्रदेशलाई विविध प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरले धनी बनाएको छ । यस भू–भागमा गुराँसको रातो फूलले वनै रंगिन्छ भने, पहाडका काखबाट बग्ने चिसाचिसा नदीहरूले जीवन्तता थप्छन् ।

कोशी प्रदेश कुनै एउटै परिभाषामा सीमित छैन । यहाँ प्रकृति र संस्कृतिको अनुपम संगम छ । पुरातात्विक र धार्मिकस्थलहरूले यहाँको सांस्कृतिक धरोहरलाई उजागर गर्छन् भने जैविक विविधताले वनजङ्गल र वन्यजन्तु प्रेमीहरूलाई आकर्षित गर्छ । यसै कारणले प्रदेशलाई एक पृथक र समृद्ध पहिचान मिलेको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की बताउँछन् । ‘कोशी प्रदेश सम्भावनाहरुको खानी हो’, मुख्यमन्त्री कार्कीले भने, ‘धार्मिक पर्यटनदेखि सहासिक पर्यटनसम्म कोशीमा पर्याप्त सम्भावना छ । यसवाट हामी मनग्ये आर्थोपार्जन गर्न सक्छौ ।’

यसै समृद्धिलाई थप प्रोत्साहन गर्दै कोशी प्रदेश सरकारले सन् २०८२ लाई ‘कोशी प्रदेश पर्यटन वर्ष’ घोषणा गरेको छ । यो घोषणा सरकारी कार्यक्रम नभई प्रदेशबासीको आत्मसम्मान, सम्भावना र सपनाको प्रतिविम्ब रहेको गत चैत २४ गते उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘यो अभियानले प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण टेवा पुग्ने कुरामा हामी ढुक्क छौँ ।’

कोशी प्रदेशको पर्यटन वर्षको मुख्य उद्देश्य स्थानीय अर्थतन्त्रलाई गति दिनु, रोजगारी सिर्जना मात्रै हैन, प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन नक्सामा उभ्याउनु हो । विश्व पर्यटन दिवसको अवसरमा घोषणा गरिएको ‘रमणीय कोशी’ नारा साथ ८२ वटा प्रमुख पर्यटकीय गन्तव्यहरू सार्वजनिक गरिएको छ ।

मुख्यमन्त्री कार्कीले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर यसको विकास र प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । पर्यटन वर्षको थालनीसँगै प्रदेशले आफ्ना विभिन्न पर्यटकीय स्थलहरूको विकास, प्रवद्र्धन र विस्तारमा विशेष ध्यान दिन थालेको छ ।

कोशी प्रदेशमा नेपालको सबैभन्दा होचो क्षेत्र कचनकवलदेखि विश्वकै सबैभन्दा अग्ला पाँच हिमालहरू सगरमाथा, मकालु, ल्होत्से, कञ्चनजंघा र कुम्भकर्ण अवस्थित छन् । यी हिमालहरू साहसिक पर्यटकहरूलाई आकर्षित गर्ने मुख्य स्रोतहरु हुन् ।

धार्मिक र सांस्कृतिक दृष्टिले पनि कोशी प्रदेश उस्तै समृद्ध छ । पाथिभरा मन्दिर, वराहक्षेत्र, हलेसी महादेव, माङसेबुङ, जायजुङ लगायतका ऐतिहासिक धार्मिकस्थलहरूले श्रद्धालु र पर्यटकहरूलाई जोड्दछन् । सांस्कृतिक पर्वचाडहरू जस्तैः साकेला, चासोक तङनाम, उभौली–उधौली, लिम्बू, राई र भोटे जातिका पर्वहरूलाई ‘फेस्टिवल टुरिजम’ को रूपमा विकास गर्ने योजना कोशीको छ । जसले स्थानीय सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउन सक्ने अनुमान सम्भावनाको ढोका पनि उघ्रिसकेको छ ।

‘यो पर्यटन वर्षमा १० लाखभन्दा बढी विदेशी पर्यटनलाई नेपालमा स्वागत गर्ने महत्वकांक्षी लक्ष्य सरकारको छ’, पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले भने, ‘यो वर्ष निर्धारित लक्ष्य पूरा गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित बनेको छ ।’

पर्यटन वर्ष सफल बनाउन प्रदेश सरकारले १० करोड रुपैयाँ विशेष बजेट विनियोजन गरेको छ भने कुल १ अर्ब ७ करोड रुपैयाँ पर्यटन पूर्वाधार विकासका लागि छुट्टाएको छ । यसले सडक, संरचना निर्माण, पर्यटन प्रवद्र्धन र सञ्चार व्यवस्थापनमा विशेष प्राथमिकता पाउनेछ ।

मुख्यमन्त्री नेतृत्वमा गठित मूल आयोजक समितिमा निजी क्षेत्र, गैरसरकारी संस्था, पर्यटन व्यवसायी, पत्रकार र स्थानीय तहका प्रतिनिधिहरू छन् । जसले योजनाको प्रभावकारी कार्यान्वयनमा समन्वय गरिरहेका छन् । कोशी पर्यटन वर्ष आयोजक समितिका सहसंयोजक पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठले भने, ‘सबै तह र तप्काको सहभागिताले पर्यटन वर्ष सफल बन्ने कुरामा हामी ढुक्क छौँ ।’

साहसिक र कृषि पर्यटनको उच्च सम्भावना

कोशी प्रदेश सरकारले प्याराग्लाइडिङ, तमोर र कोशी नदीमा र्‍याफ्टिङ, हिमाल आरोहण, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, क्यानोइङ र कायाकिंग जस्ता साहसिक खेल पर्यटनलाई विशेष प्राथमिकता दिएको छ । यसले गुणस्तरीय पर्यटक भित्र्याउन मद्दत गर्ने विश्वास छ ।

त्यस्तै, यहाँको प्रसिद्ध चिया उत्पादनलाई ‘कृषिपर्यटन’ को रूपमा प्रवद्र्धन गर्ने योजना छ । इलामको कन्याम, माइपोखरी र सन्दकपुर क्षेत्रको हरियाली र चिया बगानले पर्यटकहरूलाई आकर्षित गर्दै आएको छ ।

पर्यटन केन्द्रहरुको स्थापनामा स्थानीय समुदायको सहभागिता अनिवार्य मानिएको छ । इलाम, धनकुटा, भोजपुर र ताप्लेजुङमा महिलाहरूले सञ्चालन गर्दै आएको होमस्टे कार्यक्रमले स्थानीय महिला उद्यमीलाई स्वरोजगार र सामाजिक रूपान्तरणको अवसर दिएको छ ।

खलंगा सामुदायिक होमस्टेमा महिला सञ्चालकहरूको आतिथ्यले पर्यटकहरूलाई विशेष अनुभव दिलाउँछ । यहाँको खानपान, रहनसहन र स्थानीय संस्कृतिको समेटिएको अनुभव पर्यटकलाई स्वदेशमै बसेजस्तो अनुभूति दिन्छ ।

पर्यटन वर्ष सफल बनाउन सञ्चारमाध्यमहरूको भूमिकालाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेको छ । युट्युब, फेसबुक, टिकटक, एफएम, रेडियो, अनलाइन र पत्रपत्रिकाहरूमा पर्यटनसम्बन्धी सामग्री प्रसारित गरिँदैछ । स्थानीय युट्युबर, भ्लगर र पत्रकारहरूलाई विभिन्न तालिममार्फत सशक्त बनाइएको छ ।

पर्यटन कार्यालय काँकरभिट्टाको सहयोग र नेपाल पत्रकार महासंघ झापाको आयोजनामा जेठ १९–२१ गतेसम्म इलामको सूर्योदय नगरपालिकामा पर्यटन पत्रकारितासम्बन्धी तालिम प्रदान गरियो । तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाका तीन दर्जन पत्रकार तथा सञ्चारकर्मीहरु सहभागी थिए ।

अन्तर्राष्ट्रियस्तरमा पनि भारत, बंगलादेश लगायतका नजिकका देशहरूमा प्रचारप्रसार कार्यक्रम सञ्चालन गरी पर्यटक भित्र्याउने लक्ष्य राखिएको पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडाले जनाए । खतिवडाले भने,‘ भारतीय पर्यटकहरूको लागि नाकामा सहजता र विशेष व्यवस्था समेत सरकारले गरेको छ । जसले पर्यटन आगमनलाई सहजीकरणको काम गरेको छ ।’

पर्यटन वर्ष सफल बनाउन सडक र पूर्वाधारको अभाव, सुरक्षा जोखिम, मानव संसाधनको कमी, बजेट र कार्यान्वयनमा चुनौतीहरू पनि छ । साथै, पर्यावरण संरक्षण र सांस्कृतिक संवेदनशीलताको ख्याल राख्दै पर्यटन विकास गर्नु आवश्यक देखिएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशीका सचिव विशाल घिमिरेले भने,‘चुनौती धेरै छन् । ती सबै चुनौतीलाई मोलेर हामी अघि बढिरहेका छौँ ।’

संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय अभाव पनि समस्याका रुपमा देखिन्छ । डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय प्रचारमा भएको कमजोरीलाई सम्बोधन गर्नु पर्ने अर्को महत्वपूर्ण पाटो त छदैछ ।

भौगोलिक विविधता र सडक अवस्थाको वास्तविकता

कोशी प्रदेश भौगोलिक दृष्टिले अत्यन्तै विविध छ । एकातिर समथर तराईको फाँट कचनकवलदेखि अर्कोतिर विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म फैलिएको यस प्रदेशमा पर्वत, पहाड, भिरालो भू–भाग र मैदान सबै समेटिएका छन् । यही भौगोलिक विविधता प्रदेशको पर्यटनको आकर्षण त हो, तर साथसाथै यातायात पूर्वाधार विकासमा चुनौती बनेको छ ।

प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्वी हिमाली जिल्लाहरू ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गा, धनकुटा, इलाम र उदयपुरमा अवस्थित छन् । यीमध्ये अधिकांश गन्तव्यहरू पहाडी र हिमाली क्षेत्रमै पर्छन् ।
सडक सञ्जाल हेर्दा, प्रदेशका मुख्य राजमार्गहरू पूर्वपश्चिम राजमार्ग, कोशी राजमार्ग, मेची राजमार्ग र मदन भण्डारी राजमार्ग, समथर र मध्यम पहाडी क्षेत्रहरूमा तुलनात्मक रूपमा राम्रो अवस्थामा छन् । तर, अधिकाशं हिमाली पर्यटकीय गन्तव्यहरू पुग्नुपर्ने ग्रामीण सडकहरू भने अझै कच्ची अवस्थामा छन् ।

उदाहरणका लागि, पाथिभरा मन्दिर पुग्न ताप्लेजुङ सदरमुकाम फुङलिङबाट १८–२० किलोमिटरको कच्ची सडक पार गर्नु पर्छ । जसमा मनसुनमा यात्रा झनै कठिन हुन्छ । हलेसी महादेव पुग्ने सडक केही वर्षयता सुधार भए तापनि अझै पूरै कालोपत्रे भइसकेको छैन । तेह्रथुमको तीनजुरे–मिल्के–जलजले, सन्दकपुर, माइपोखरी पुग्न पनि धेरै खण्डमा ग्राभेल सडक वा कच्ची बाटो प्रयोग गर्नुपर्छ ।

त्यस्तै, खुवालुङ, माङसेबुङ, फक्ताङलुङ, तुवाचुङ, जायजुङ जस्ता ऐतिहासिक तथा धार्मिक स्थलहरूका लागि सडक पहुाच अझै सीमित छ । कतिपय गन्तव्यहरूमा मोटर यातायात नै पुग्दैन, केही घण्टाको पदयात्रा गर्नुपर्ने हुन्छ ।

सडकको अवस्थाले मात्र होइन, सञ्चार सेवाको पहुँच पनि विकट पर्यटकीय स्थलहरूमा कमजोर छ । धेरैजसो ठाउँहरूमा इन्टरनेट कभरेज सीमित छ भने मोबाइल सञ्जाल पनि अवरुद्ध हुने गर्छ ।

प्रदेश सरकारले ५०० किलोमिटर सडक स्तरोन्नतिको योजना अघि सारेको छ । साथै, प्रमुख पर्यटकीय गन्तव्यहरूमा निःशुल्क वाइफाइ र अन्य आधारभूत पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ ।

तर, दिगो पर्यटन विकासका लागि ग्रामीण सडकहरूको गुणस्तरीय सुधार, मौसम प्रतिरोधी संरचना निर्माण, ट्राफिक व्यवस्थापन र संकेत मार्ग (साइनबोर्ड) को व्यापक विकास आवश्यक छ । यात्राको सहजता बिना दीर्घकालीन पर्यटन प्रवद्र्धन सम्भव छैन भन्ने कुरा अहिलेको भौगोलिक अवस्था र सडक स्थितिले स्पष्ट देखाएको छ ।

अर्कोतर्फ, यही चुनौतीलाई अवसरका रूपमा लिएर ट्रेकिङ र साहसिक पर्यटनलाई प्रवद्र्धन गर्न सकिन्छ, जहाँ यातायातको सहजताभन्दा पनि ‘अनटचेन्ड’ गन्तव्यको अनुभव बेच्न सकिन्छ । जहाँ अझै धेरै विकास र भौतिक परिवर्तन भइसकेको छैन । प्राकृतिक अवस्था धेरै हदसम्म जस्ताको तस्तै छ, भीडभाड कम भएको क्षेत्रलाई अनटचेन्ड भनिन्छ ।

स्विस साझेदारीमा अढाई अर्बका चार पदमार्ग

कोशी प्रदेश सरकारले आगामी २०८५ सालभित्र चारवटा पदमार्ग निर्माण गर्ने महत्वकांक्षी योजना अघि सारेको छ । करिब अढाई अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेका यी पदमार्गहरू स्विस सरकारको साझेदारीमा अघि बढ्ने भएका छन् । यस परियोजनाले पूर्वी पहाडी भूभागको पर्यटन विकासलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ ।

यस योजनाअन्तर्गत इलामको सूर्योदय नगरपालिकामा चियाबारी पदमार्ग निर्माण हुनेछ, जसले फिक्कललाई श्रीअन्तुसाग जोड्नेछ । करिब २० किलोमिटर लामो यो पदमार्गले पर्यटकलाई हरियाली चियाबारी र सूर्योदय दृश्यावलोकनको अनुपम अनुभव दिने विश्वास गरिएको छ ।

त्यस्तै, ३८ किलोमिटर लामो फाल्गुनन्द पदमार्ग फिदिम–छिन्ताप्पु–सन्दकपुर–माइपोखरी हुँदै इलाम बजारमा पुग्नेछ । यो पदमार्गले लिम्बू संस्कृति, जैविक विविधता र धार्मिक आस्थालाई जोड्ने लक्ष्य लिएको छ ।

प्रदेशकै प्रमुख पर्यटकीय योजना मानिएको लालीगुराँस पदमार्ग १६० किलोमिटर लामो हुनेछ । यो तुम्लिङटारबाट सुरु भई खाँदबारी, नुम, गुफापोखरी, तीनजुरे, मिल्केसम्म पुग्नेछ । यस पदमार्गले सिजनमा फुल्ने लालीगुराँसको बन, हिमाली दृश्य र ग्रामीण जीवनशैलीको गहिरो अनुभव दिलाउनेछ ।

यसैगरी, सबैभन्दा लामो १६८ किलोमिटरको मुन्धुम पदमार्ग तावाभञ्ज्याङ–ट्याम्केडााडा–धोत्रे हुँदै हाासपोखरी, मयुङडाँडासम्म पुग्नेछ । लिम्बू समुदायको मुन्धुम संस्कृति र धार्मिक आस्थाको संरक्षण र प्रवर्धनमा यो मार्गले योगदान पु¥याउनेछ ।

परियोजनाको कुल लागत २ अर्ब ४५ करोड रुपैयाँ हुनेछ । जसमा स्विस सरकारको १ अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, २९ स्थानीय तहको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाख रुपैयाँ लगानी हुनेछ ।

आर्थिक लाभका हिसाबले मात्रै यो योजनाको महत्व छैन । यसले स्थानीय संस्कृति, मौलिकता र दिगो ग्रामीण पर्यटनलाई जोड दिँदै दीर्घकालीन समृद्धिको आधार खडा गर्नेछ ।

यो परियोजनाले कोशी प्रदेशलाई पर्यटकीय हबको रूपमा स्थापित गर्नुका साथै स्थानीय जीवनस्तरमा ऐतिहासिक परिवर्तन ल्याउने अपेक्षा प्रदेश सरकारको छ ।

कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा प्रदेशको पर्यटन विकासमा नयाँ युगको सुरुवात रहेको पर्यटन कार्यालय काँकडभिट्टाका अधिकृत निरोज कट्टेलले बताए । ‘यसले प्रदेशको प्राकृतिक, सांस्कृतिक, धार्मिक, साहसिक र कृषिपर्यटन क्षेत्रलाई समृद्ध बनाउनेछ’, उनले भने ।

सरकार र निजी क्षेक्रबीच सहकार्य, स्थानीय समुदायको सक्रिय सहभागिता, दीर्घकालीन दृष्टिकोण र प्रभावकारी कार्यान्वयनबाट मात्र यो अभियान सफल हुने सरकारको विश्वास छ । ‘यसले कोशी प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन मञ्चमा स्थापित गर्ने र प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास छ’, सचिव घिमिरेले भने, ‘तर, सबै एकतावद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’

Adv footer