
बिर्तामोड, असार ३ । म विगत २० वर्षदेखि इजरायलमा बस्दै आएको छु । इजरायलमा छसात हजारभन्दा बढी नै नेपालीहरू छन् । युद्ध बढ्दै गयो भने नेपाल आउनै पर्छ होला । बस्न नसक्ने स्थिति भयो भने त को नेपाली यतै बस्छु भन्ला र ?

नेपाली दूतावासले पनि यहाँको होम कमान्डको आदेश मान्नु भन्ने हो । दूतावासले भन्नुभन्दा पहिले नै होम कमान्डको आदेशमा सबै कुरो आइसकेको हुन्छ । दूतावासले सूचना निकाल्ने, सकेको पहल गर्ने, जानकारी दिने, अनावश्यक भीडभाड नगर्नू, नियमको पालना गर्नू भन्ने सम्झाउने हो । दूतावासले अप्ठ्यारो पर्दा सम्पर्क गर्नू भनेको छ ।

अहिलेसम्म कसैलाई परेको छैन । पर्दा के हुन्छ, अहिले केही भन्न सकिन्न । अहिलेसम्म सहयोग गर्छु नै भन्नुभएको छ दूतावासबाट र एनआरएनएका अध्यक्षले ।

अस्ति इरानले तेलअभिभमा आक्रमण गरेको स्थानमा १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । झन्डै ३० जनाको अवस्था अज्ञात भनिएको छ । उनीहरूलाई भेटाउन सकिएको छैन । दुई सयजना घाइते भएका छन् । यो नै इजरायलमा भएको सबैभन्दा ठुलो मानवीय क्षति हो ।

नेपालीहरू अहिलेसम्म त सुरक्षित नै छन् । मानवीय क्षति भएको सुनिएको छैन । नेपाल फर्किने कतिपयको इच्छा हुन पनि सक्ला । युद्ध बढ्दै गएको अवस्थामा यता बस्नु उचित हुन्न । पहिलाको युद्ध भनेको कुनै एउटा समूहसँग थियो । जस्तो हामस, हिजबुल्लाह भनेका समूह थिए । तर, अहिलेको युद्ध त अर्को देशसँग छ ।

स्थिति सोचेजस्तो छैन । तर पनि यहाँको सुरक्षा सिस्टमलाई विश्वास गरेर हामी नेपालीहरू बसिरहेका छौँ । कतिपय केयर गिभरको काम गर्नेहरू घरमा हुने भएकाले उनीहरू घरमै बसिरहेका छन् ।

परिवारसहित बस्ने नेपालीहरूको प्राइभेट काम हुन्छ । आफ्नै अपार्टमेन्टमा बस्ने हो । अपार्टमेन्टमा बंकर दह्रो हुनेहरू त्यही बस्छन् । दह्रो नहुनेहरू पब्लिक सेन्टरको बंकरमा गएर बस्छन् । ती बंकरहरू सरकारले नै बनाएको हुन्छ ।
म पनि अहिले स्कुलको पब्लिक बंकरमा बसिरहेको छु । मलाई म बस्दै आएको घरको बैंकर उचित लगेको थिएन । मेरो परिवार नै यतै आएर बसिरहेका छौँ । यहाँबाट म बस्ने घर मात्र ५ मिनेटको दूरीमा छ । म तेलअभिभमै हो बस्ने । यसलाई इजरायलको पेन्टागन भन्छन्, रक्षा मन्त्रालय नजिकै छ ।
–खबरहब डटकमबाट साभार गरिएको यो सामग्री सुनसरीका सुनिल श्रेष्ठसँग कुराकानी गरेर तयार पारिएको हो ।