
बिर्तामोड, कात्तिक ५ । यो वर्षको तिहारको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन । तर, यही समयमा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम आंशिकदेखि साधारणतया बदली भने हुनेछ ।




जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तिहारको भाइटिकाको अघिल्लो दिन आज (बुधबार) पश्चिम नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव परेको छ ।




जल तथा मौसम विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ ।




साथै, विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागका एक–दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहेको छ ।




तिहारको भाइटिकाको दिन बिहीबार पनि आजको जस्तो मौसम रहने पूर्वानुमान गरिएको छ । बिहीबार टिकाको समयमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । तर, पश्चिमी वायुको सामान्य प्रभावले पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने पूर्वानुमान छ । जसका कारणले पहाडी क्षेत्रका एक–दुई ठाउँमा वर्षा हुनेछ ।




टिकाको दिन बिहीबार कोशी र मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।




सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको तिहार विशेष बुलेटिनमा उल्लेख छ ।