
बिर्तामोड, कात्तिक २२ । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलअन्तर्गत आज विभागीय प्रतिद्वन्द्वी एपिएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ ।
आज दिउँसो ३ बजेबाट सुरु हुने खेल फाइनल प्रवेशको लागि मात्र होइन, नेपाली महिला फुटबलको दुई ठुला नामबीचको प्रतिष्ठाको लडाइँ पनि बन्ने अपेक्षा गरिएको छ ।
क्वार्टर फाइनल चरणमा एपिएफले भारतको सिक्किम सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्दै उत्कृष्ट लयमा रहेको संकेत दिएको थियो । त्यस्तै, आर्मीले आरएस पोखरालाई ६-० गोलले हराउँदै आफू पनि उपाधि दाबेदार टोली भएको प्रमाणित गरेको हो ।
एपिएफका प्रशिक्षक जिवेशकुमार पाण्डेले सेमिफाइनल अघि भनेका थिए, “हामीले लगातार आक्रामक खेल प्रदर्शन गर्दै आएका छौँ । आर्मी बलियो टोली हो, तर हाम्रो टिमको गति, पासिङ र प्रेसिङ गेमले फर्काउन सक्छ ।”
त्रिभुवन आर्मीका प्रशिक्षक चक्रबहादुर तामाङले भने, “एपिएफसँगको खेल सदैव चुनौतीपूर्ण हुन्छ । तर, हाम्रो टिममा राम्रो संयोजन बनेको छ । खेलको गहिराइमा जान सक्ने अनुभव हामीसँग छ, त्यसैले फाइनल पुग्नेमा आत्मविश्वास छ ।”
दुबै टोलीले अहिलेसम्म गोल व्योहोरेका छैन्न । यसअघि पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले संकटा एफसीलाई २-० गोलले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरिसकेको छ । आजको खेलको विजेता टोलीले फाइनलमा पुलिससँग उपाधिका लागि भिड्नेछ ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ र ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।





