
बिर्तामोड, कात्तिक २७ । अन्तर्राष्ट्रिय झापाली समाजले शिवसताक्षीको दुधेमा सञ्चालन भएको प्रथम झापा महिला गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ । समाजको तर्फबाट अध्यक्ष महेन्द्र चम्लागाईंले उपलब्ध गराएको ५१ हजार रुपैयाँ समाजकी उपाध्यक्ष सीता पाण्डेले हस्तान्तरण गरेकी थिइन् ।
कात्तिक २४ गते प्रतियोगिताको फाइनल समारोहमा उपाध्यक्ष पाण्डेले उक्त रकमको चेक आयोजक समितिका अध्यक्ष सन्तोष थोप्रालाई हस्तान्तरण गरेकी थिइन् । उपाध्यक्ष पाण्डेले झापामा पहिलोपटक ऐतिहासिक रुपमा प्रतियोगिता सम्पन्न गरेकोमा आयोजकलाई बधाई दिइन् ।
२०८२ कात्तिक १७ गतेदेखि सुरु भएको प्रथम झापा महिला गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । १–० गोलको अन्तरले एपिएफ एफसीलाई हराउँदै पुलिसले उपाधि जितेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई १० लाख १० हजार र उपविजेता टिमलाई पाँच लाख सहित ट्रफी र मेडल प्रदान गरिएको थियो । उपाध्यक्ष पाण्डेले महिलाहरूका लागि आयोजना हुने यस्ता प्रतियोगिताले सम्पूर्ण महिलाहरूमा अझ बढी सम्मान, सशक्तीकरण र आत्मरक्षाका लागि प्रेरणा र प्रोत्साहन गर्ने विश्वास व्यक्त गरिन् ।





